मौन आवाजका प्रेम कविताहरु

प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जली

मैले सहेको थिएँ
एकतर्फी प्रेमको चौतर्फी यातना
सहेको थिएँ असंख्य पीडा !

थाहा हुनुभन्दा पहिले थाहा थिएन
दुख्दोरहेछ घाउ !

मैले सहेको थिएँ
बिना वस्त्र नाङ्गो शरीर
सहेको थिएँ अनन्त जाडो !

दुख्नुभन्दा पहिले थाहा थिएन
दुख्दोरहेछ घाउ !

पुग्न हिँडेको थिएँ
नपुग्दै फर्कनुपर्ने ठाउँमा
नभएको बाटो
नरहेको गल्ली – दोबाटो र बस्तीमा !

थाहा हुनुभन्दा पहिले थाहा थिएन
थाहा हुनुपर्ने धेरै कुरा !

जे होइन त्यही
जे छैन त्यही
छायाँको छायाँ खोज्दै
म यहाँ आइपुगें !

आकाशभन्दा अलिमुनि
धर्तीभन्दा अलिमाथि
यतै कतै म आइपुगें !

मैले जे जे सम्झनुपर्ने हो त्यही त्यही बिर्सिएँ
मैले जे जे बिर्सनुपर्ने हो त्यही त्यही सम्झिएँ !

यादहरुको पहाडमा उभिएर –
तिमीलाई मैले सम्झिएँ !

– त्यहीँ थियो प्रेमको मृत देउराली
जहाँ मैले आँसुका केही फूलहरु चढाएँ !

म त सम्झिरहने मान्छे

म त सम्झिरहने मान्छे
तिमीलाई सम्झिरहन्छु ।

तिम्रो ओठको हाँसो सम्झिरहन्छु
तिम्रो आँखाको आँसु सम्झिरहन्छु ।

म त सम्झिरहने मान्छे
तिमीलाई सम्झिरहन्छु ।

सम्झिरहन्छु –
धमिलो पानीमा बगेको समय
सम्झिरहन्छु –
समयसँगै बगेर गएको हाम्रो सम्बन्ध !

गोधुली साँझको विरानो धुन सम्झिरहन्छु
क्षितिज पारिको जून सम्झिरहन्छु ।

सम्झिरहन्छु –
तिम्रो पाइतालाले तय गरेका दुरीहरु !

बालुवाको घर सम्झिरहन्छु
कल्पनाको झ्याल सम्झिरहन्छु
सम्झिरहन्छु –
सम्झनाका निर्दोष दृश्यहरु !

म त सम्झिरहने मान्छे
तिमीलाई सम्झिरहन्छु
तिमीले दिएको हृदयको घाउ सम्झिरहन्छु !

सम्झिरहन्छु –
प्रेम पत्रहरु
सम्झिरहन्छु –
वाचा कसम र असंख्य भेट्घाटहरु !

दोबाटोको प्रतीक्षा सम्झिरहन्छु
हातमै ओइलाएका फूलहरु सम्झिरहन्छु
सम्झिरहन्छु –
अनन्त अनमोल पीडाहरु !

तिम्रो उपस्थितिको रोमाञ्च सम्झिरहन्छु
तिम्रो अनुपस्थितिको उदासी सम्झिरहन्छु ।

सम्झिरहन्छु –
आकाशका जम्मै तारा पुञ्जहरु
धर्तीका सबै फाँट र कन्दराहरु ।

सम्झिरहन्छु –
वायु मण्डलका चरम स्वरहरु
ब्रम्हाण्डका गति र चालहरु !

सम्झिरहन्छु –
हिमपात र भीषण वर्षातहरु
आँधी तूफान र प्रलयहरु ।

म सम्झिरहन्छु –
हाम्रो प्रेमको अवसान !

म त सम्झिरहने मान्छे
तिमीलाई हरदम सम्झिरहन्छु ।

तिमीले बिर्सेर गएदेखि –
तिमीलाई झन् सम्झिरहन्छु !

तिमी गइसकेपछि

मलाई छोडेर जानु तिम्रो आफ्नो कुरा हो
तिमी गइसकेपछी म के हुन्छु त्यो मेरो कुरा हो ।

रुनु वा हाँस्नु वा विरहमा बस्नु त्यो मेरो कुरा हो
दुख्नु या नदुख्नु मेरो कुरा हो ।

तिमी गइसकेपछी
तिमीसँगै सबैथोक नजान सक्छ
केही यादहरु रहिरहन सक्छ
केही अनुभुतिहरु रहिरहन सक्छ
केही पीडाहरु रहिरहन सक्छ ।

पहिरो गइसकेपछि पनि जसरी रहिरहन्छ –
अर्को पहिरोको खतरा
भुकम्प गइसकेपछि पनि जसरी रहिरहन्छ प्रकम्प
त्यसरी नै रहि नरहन सक्छ मेरो हृदयमा प्रेम !

हुरिपछि लडेका बुट्यान र रुखहरु
बाढीपछि अलपत्र परेका बगरहरु
चट्याङ्पछि तिल्मिलाएका आँखाहरु त्यो अर्कै कुरा हो ।

तिमी गइसकेपछी तिमी कहाँ गयौ त्यो तिम्रो कुरा हो
तिमी गइसकेपछी म कहाँ रहें त्यो मेरो कुरा हो ।

हरेक रात ताराहरु गनेर बस्नु
हरेक क्षण छट्पटीमा बाँच्नु त्यो मेरो कुरा हो ।

सर्वत्र पोखिएर रित्तिनु
वा र कतै जमेर बस्नु त्यो मेरो कुरा हो ।

घोर अन्धकारको चरम कोलाहलमा हराउँछु
टुक्रिन्छु – खण्डित हुन्छु
रहन्छु वा विलाउँछु त्यो मेरो कुरा हो ।

ए छोडीजाने मायालु !

नजानु तिमी गइसकेपछी
केवल मलाई थाहा छ –
म के भएको छु !

Scroll to Top