आगामी ३ दिन मुसलधारे वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले ३ दिन विषेशगरी राति धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्नेतर्फ सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।

मौसमविद् सञ्जिव अधिकारीले हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए । 

“राति वर्षा हुने सम्भावना छ तर लगातारको वर्षाको सम्भावना भने छैन”, उनले भने, “आज राति पनि देशभर साधारणतया बदली रहनेछ र सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।”

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका १/२ स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।

Scroll to Top