आज श्रावण कृष्ण चतुर्दशी : घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

काठमाडौँ । आज गठे मंगल पर्व मनाइँदैछ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउने गर्दछन् । आजको दिनलाई गथांमुगः चःह्रे भन्ने गरिन्छ । आज गठेमङ्गल–गठाङ्मुग–घन्टाकर्ण–घन्टासुर र गाथामोग पर्व मनाइन्छ ।

साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ ।

त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा छ । कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन छ । ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।

उपत्यकामा विशेष गरी इन्द्रचोक, म्याँपीलगायतका स्थानमा गठा मंगल ठड्याउने गरिन्छ भने उपत्यका बाहिर ताप्लेजुङ, संखुवासभा सहित नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विषेश महत्वका साथ यो पर्व मनाउने चलन रहेको छ । केही स्थानमा आजबाट सुरु भएको पर्व लाखेजात्र, रोपाई पर्व र गाईजात्रा मनाएर सम्पन्न हुने गरेको छ ।

Scroll to Top