एक खेलअघि नै न्यु डायमण्ड र एपिएफ फाइनलमा

काठमाडौं । लामाचौर कप भलिबल प्रतियोगिताको महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोटर्स क्लब र एपिएफ क्लबले‌ लगातार दोस्रो जित हात पारेका छन् !

त्यस्तै , पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले विजय हासिल गरेको थियो भने गण्डकी प्रदेश र एपिएफको खेल प्रकाश अभावका कारण स्थगित गरिएको छ ।

पोखराको लामाचौरस्थित भलिबल कोर्टमा बुधवार सम्पन्न महिलातर्फको खेलमा न्यु डायमण्डले गण्डकीलाई ३-० को सोझो सेटमा हराएको थियो ।

पहिलो सेटमा २५ -१३ ले हराएको डायमण्डले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१६ को नतिजा सहित लगातार दोस्रो खेल जितेको हो ।

बिहान ८ बजे नै सुरु हुनुपर्ने खेल अविरल वर्षाका कारण ढिलागरि सुरु भएको थियो । वर्षापछी सुरु भएको खेलमा न्यु डायमण्डले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई ३-० को सेटमा हराएको थियो ।

अर्को खेलमा एपिएफले एभरेष्टलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । एपिएफले पहिलो सेट २५-१० र दोस्रो सेटमा २५-११ को अन्तरले हराएको थियो । त्यस्तै , अन्तिम सेटमा पनि एभरेष्ट क्लबलाई एपीएफले २५-१३ ले पराजित गर्न सफल भएको थियो !

अहिलेसम्मको खेल नतिजा अनुसार न्यु डायमण्ड र एपिएफको बराबर ६ अंक रहेको र दुवै टिम फाइनलमा प्रवेश गरेको छ ।

स्थगित एपिएफ र गण्डकीको खेल तथा अन्य लिगका बाँकी खेल भने बिहीवार हुने बताइएको छ !

Scroll to Top