गणेश श्रमणको “आगो लिएर गाउँ गाउँमा” कविता कृतिबाट ३ कविता

चितवनलाई अनेक अर्थमा साहित्यिक राजधानी मान्न सकिन्छ !

विविध कार्यक्रमिक सृजनात्मक गतिविधि र साहित्यिक विमर्शको खुल्ला प्रस्तावना मार्फत जसरी चितवनले केही दशकदेखि कार्य गरिरहेको छ , त्यो अतुलनीय छ ।

प्रायः हरेकदिन चितवनमा कुनै न कुनै साहित्यिक अनुष्ठान भइरहेकै देखिन्छ , सुनिन्छ , पढिन्छ !

चितवनको साहित्यिक आकाश यतिधेरै फराकिलो हुनुमा “चितवने” कवि साहित्यकारहरूको अविरल गतिशीलता प्रधान कारण हो ।

आजको शोणितपुर “शनिबार साहित्यबार”मा चितवनकै कवि गणेश श्रमणको नविनतम कृति“आगो लिएर गाउँ गाउँमा”बाट तीनओटा कविता पस्किने जमर्को गरेका छौं ।

श्रमणका यसअघि “शब्दक्रान्ति” कविता सङ्ग्रह – २०६६ र गुलियो काठमाडौं – २०७५ प्रकाशित छन् ।

आजको शृङ्खलामा मुलतः “आगो लिएर गाउँ गाउँमा” कविता कृति र त्यसमा समावेश भएका कविताहरूको सन्दर्भमा छलफल गर्नेछौं !

प्रस्तुत सङ्ग्रहमा सङ्ग्रहित सबै कविताहरू दुरुह बिम्ब र जटिल काव्य- संरचनाबाट मुक्त छन् । परम्परागत काव्य लेखनको मूल धाराभन्दा पर नभएर पनि “अति” “सरलता” “आगो लिएर गाउँ गाउँमा” को जटिल वैशिष्ट्य हो ।

सरल रेखामार्फत कोरिएका मान्छे , घर , गाउँ , समाज र राष्ट्रियता सम्बन्धी भावनाहरुमा किञ्चित कूटनीतिक गन्ध नपाइनु , “आगो लिएर गाउँ गाउँमा” को अर्को विशेषता हो ।

उत्तरआधुनिक विनिर्माणवादी समयको गति र लय भन्दा बाहिर – आफ्नै पूर्ववर्ती चिन्तन , आफ्नै दृष्टिपरिवेशमा विचरण गरेर गाउँ र गाउँकै महिमा र महत्तागानमा आधारित “आगो लिएर गाउँ गाउँमा” कविको बुझिनसक्नुको अनुरागको प्रतिफल हो ।

कला , विचारका दृष्टिबाट कमजोर तर भावना र संवेदनाबाट मजबुत छन् कविताहरू !

समकालीन काव्य-लेखन परम्परामा श्रमण , नवीन चिन्तन र व्यापक विश्व – दृष्टिकोण प्रस्तुत गर्न असमर्थ देखिए पनि प्रत्येक कवितामा आफ्नो माटोको मौलिक सुगन्ध लेख्न सफल भएका छन् !

नेपाली ग्रामीण जीवनको बद्लिंदो दृश्य पढ्न र हरेक मान्छेले आफ्नो प्रिय अतितलाई“सुरक्षित”राखिरहन कवि गणेश श्रमणको ” आगो लिएर गाउँ गाउँमा” उपर्युक्त कविता सङ्ग्रह हो !

 

गणेश श्रमण

 

सौन्दर्य

हाम्रा विचारहरू
फरक भए पनि
विश्वासहरू एउटै छन्

हाम्रा अभिव्यक्तिहरू
फरक भए पनि
मर्महरू एउटै छन्

हाम्रा तिर्खाहरू
आ-आफ्ना भए पनि
पिउने पानीको मूल एउटै छ

स्वास आ-आफूले फेरिए पनि
बग्ने हावा एउटै छ
हामीले हिँड्ने गोरेटो
फरक भए पनि
पुग्ने गन्तव्य एउटै छ

हामी बाँचेको
समय एउटै छ
उकाली ओराली गर्ने
लेक एउटै छ
बेँसी एउटै छ

हामीमाथिको आकाश
एउटै छ
हामीले टेकेको धर्ती
एउटै छ

हामीले भोग्ने जाडो
एउटै हो
गर्मी एउटै हो

हामीलाई हुने
भोक प्यासका
अनुभूतिहरू एउटै हुन्
हामी सबै
एउटै हिउँद र बर्खाका
असिना र पानीले चुटिएर
चिथ्रा चिथ्रा परेका
एउटै बारीका मकैका बोटहरू हौं

हामी सबै
एउटै भेलले खियाइएका
एकै नदीकिनारका
छियाछिया परेका ढु‌ङ्गाहरू हौं

हामी सबै एउटै भूकम्पले लखेटिएर
खुलाचौरको एउटै पालमुनि
बास बस्न आइपुगेका
एउटै टोलका बासिन्दा हौं

हाम्रो पहिरोले लतार्ने खेत
एउटै हो
बाढीले बगाउने
भेग एउटै हो
हामीले रोज्ने चुनाव चिह्न
फरक फरक भए पनि
मतपत्र एउटै हो
र मत खसाल्ने बाकस पनि एउटै हो

एउटै सिरानी गरेर सुत्नेले त
फरक फरक सपना देख्छन् भने
एउटै मान्छेको मनभित्र त अनेकथरी विचारको हुन्डरी चल्छ भने
हामी त फरक फरक अनुहार र डिएनए बोकेका विचित्रका प्राणी हौं

आऊ, यही फरकपनलाई स्वीकार गरौं बहुलतालाई आत्मसात् गर्दै
विविधतामा एकता बाँचौं !

बाग्मतीमा पानी बग्दैन

बाग्मतीमा पानी बग्दैन
के बग्छ तपाईलाई थाहै छ

बालुवाटारमा देशको प्रधानमन्त्री बस्दैन को बस्छ
तपाईलाई थाहै छ

सर्वोच्च न्यायालयमा
प्रधान न्यायाधीश बस्दैन
को बस्छ तपाईलाई थाहै छ

अख्तियार दुरुपयोगको
अनुसन्धान आयोगमा
प्रमुख र आयुक्तहरू बस्दैनन्
को बस्छन् तपाईलाई थाहै छ

प्रहरीको प्रधान कार्यालयमा महानिरीक्षक बस्दैन
को बस्छ तपाईंलाई थाहै छ

संसदभवनमा सांसदहरू बस्दैनन्
को बस्छन्
तपाईंलाई थाहै छ

सिंहदरबारमा
मन्त्री र प्रशासकहरू बस्दैनन्
को को बस्छन् तपाईंलाई थाहै छ

बाग्मतीमा पानी बग्दैन
के बग्छ ?
तपाईंलाई थाहै छ ।

भोग

संसारमा निद्रा कति छ
अलिकति निद्रा
म पनि सुत्न चाहन्छु

संसारमा सपना कति छ
अलिकति सपना
म पनि देख्न चाहन्छु

संसारमा भोक कति छ
अलिकति भोक
म पनि खप्न चाहन्छु

संसारमा दुःख कति छ
अलिकति दुःख
म पनि सहन चाहन्छु

संसारमा सुख कति छ
अलिकति सुख
म पनि भोग्न चाहन्छु

संसारमा पाप कति छ
अलिकति पाप
म पनि लिन चाहन्छु

संसारमा मृत्यु कति छ ?
अलिकति मृत्यु
म पनि मर्न चाहन्छु ।

Scroll to Top