तीन श्रष्टा, तीन कविता

चन्द्रागिरि , प्राचीन सभ्यता र विविध साँस्कृतिक धरोहरको सहर हो ।

पौराणिक , आर्ष युगदेखी यस क्षेत्रको अभिलिखित इतिहास र पुरातत्त्व विशिष्ट रहिआएको पाईन्छ ।

नेपाल मण्डलको इतिहासमा यस स्थानको आफ्नै कालक्रमिक योगदान र भुमिका रहेको छ ।

जाति बसोबास , भाषा , संस्कृति , प्रकृति पर्यटनमा मात्र नभई , साहित्य कलाको दृष्टिबाट समेत यो भुमि उर्वर रहँदै आएको छ ।

नेपाली साहित्यको सन्दर्भमा सोमनाथ सिग्देल देखिको हालको आधुनिक समयसम्म आईपुग्दा चन्द्रागिरिले मौलिक साहित्य सृजनामार्फत अनवरत आफ्नो गतिविधि गर्दै आईरहेको स्वत : सिद्ध छ !

यसै सन्दर्भमा आजको “शनिबार साहित्यबार” साहित्यिक शृङ्खलामा यस शोणितपुर , चन्द्रागिरिमा जन्मेर साहित्य साधना गरिरहनु भएका वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठका साथै भीमनारायण श्रेष्ठ र राजेन्द्र श्रेष्ठका तीन कविता प्रस्तुत गरेका छौं !

 

वसन्तको पर्खाई

  • तेजप्रकाश श्रेष्ठ

फुङ्ग उडेको छ
वातावरण !
सायद वसन्त लाग्न बाँकी नै छ ।
रुख विरुवा छन्
तर
न फूल छन् न पात छन्
जिङ्ग्रिङ्ग छन्, कुरुप छन्
काला काला
नाङ्गा नाङ्गा
फुङ्ग उडेको छ
वातावरण !
सायद वसन्त लाग्न बाँकी नै छ ।

घर छन् तर चाइँचुइँ छैन
दन्त्यकथाको राक्षसले
उजाड उजाड पारेको
भयक्रान्त बस्ती झैँ
मानव वस्ती
मानवहीन सुनसान सुनसान
फुङ्ग उडेको छ
वातावरण !
सायद वसन्त लाग्न बाँकी नै छ ।

विशाल छन् बाटाघाटा
भव्य छन् घर भवन
संभ्रान्त वस्ती हो यो
घर आँगन र बाटोघाटो
सुरम्य र सुन्दर छन्
फराकिला सडकहरुमा
हुइँकिरहेछन्
चिल्ला कारहरु
तर
फुङ्ग उडेको छ
वातावरण !
सायद वसन्त लाग्न बाँकी नै छ ।

फुर्सद देखिन्न कसैलाई
आँगनमा निस्कन
बाटोमा पैदल हिँड्न
फजुल गफगाफ गर्न
काम र मामको जोहो गर्न
हतार हतारमा छन् सबै
सायद यही त हो
यान्त्रिक जिन्दगी
उराठ उराठ लाग्छ मलाई ।
फुङ्ग उडेको छ
वातावरण !
सायद, वसन्त लाग्न बाँकी नै छ ।

————————————————-

मुर्कट्टाको हत्या

 

  • भीमनारायण श्रेष्ठ

हाम्रा द्वारे बा’को घरमा हिजो
खुसी र हर्षको बढाईं भो
दीपावली र भोज ठूलै भयो
जुम्ल्याहा छोरा जन्मेको उत्सवमा

गर्भमा चिनो बस्न नपाउँदै
जन्मेका ती छोराहरुको
परेन सहन प्रसव बेदना अहो
मातृ हृदय खुसीले गदगद् भो

उज्ज्वल भविष्य शिशुको देखेर
द्वारे बा मनमनै हाँस्नु भो
क्षण भरमा तत्परता हजुरमा’को
आँखा चिम्ली काखी च्याप्नु भो

कोरोना कहरमा जन्मेको हतारमा
शङ्का र भय भयो अचम्मको
शिशु देखी आश्चर्य किन भो
सहोदरका आफ्नै भाइ खलक

टोल छिमेक गाउँमा हल्ला अचम्म
हावासरि फैलियो त्रास भो
शरीरभरि आँखा ती छोराको
अचम्म ! रै’छ टाउको बिनाका

मुर्कट्टा हो त्यो जुम्ल्याहा सन्तान
नजर पर्न हुन्न भस्म हुने ठानियो
छायाँ पनि त्यसको पर्नासाथ
कुल नाश हुन्छ भन्न थालियो

गाउँले टोलाए अरु खलक डराए
द्वारे बा तिर हेरी सराप्न थाले
चतुर दिमाग द्वारे बा को
राख्न चाहेन मुर्कट्टा क्षणभर

न्वारान तिनको गर्न नपाउँदै
काखमै रेट्न तयार भो
आँसु झार्दै हजूरआमा काम्दै
चार दिन नकट्दै हत्या गर्नु भो ।

———————————————-

बाहरू झुटा हुन्छन्

 

  • राजेन्द्र श्रेष्ठ

बाहरू झुटा हुन्छन्
भोको पेटमै पुग्यो भन्छन्
तिम्रो थाल हेरेर बरु थपिदिन्छन् आफूलाई पुग्दैन भन्न लजाउँछन्
त्यसैले बाहरू झुटा हुन्छन् ।

बाहरू झुटा हुन्छन्
पीडा बोकी ठीक छु भन्छन्
भोकभोकै बसेर तिम्रो खुसीमा
त्यसै त्यसै खुसी हुन्छन्
त्यसैले बाहरू झुटा हुन्छन् ।

एकसरो जडाउरी लगाएरै भएपनि
तिम्रो खुसीको लागि भनेरै
मोटरसाइकल किनिदिन्छन्
गाह्रो अप्ठ्यारो छ कसैले सोधे
सिधै झुट बोली दिन्छन्
त्यसैले बाहरू झुटा हुन्छन् ।

भविष्य देखेका हुँदैनन्
बरै बाहरूले तिम्रो दूरतक
तर बाहरू तिम्रै भविष्यको चिन्तन गर्छन् आफ्नो भविष्य भूत वर्तमान
मतलब राख्दैनन्
सन्तान दरसन्तानको भविष्य सोचिरहन्छन्
त्यसैले बाहरू झुटा हुन्छन् ।

Scroll to Top