नेकपा एमाले सचिवालय बैठक सम्पन्न

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार सम्पन्न बैठकले पार्टीको वार्षिक कार्ययोजना बनाएको छ ।
बैठक पछि पत्रकारसँग कुरा गर्दै पार्टी महासचिव शंकर पोखरेलले बलिया राष्ट्रिय शक्ति बनाउने गरी पार्टीले वार्षिक कार्ययोजना बनाइएको जानकारी दिनुभयो । जनसंगठन परिचालन गरी जनतासँग जोडिने कुरालाई प्रथामिकतामा राखेर कार्ययोजना बनाएको पोखरेलले बताउनुभयो । ‘आजको बैठकले निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको छ’, पोखरेलले भन्नुभयो ।
वार्षिक कार्ययोजना भित्र १८ वटा विषय समावेश भएको पोखरेलले बताउनुभयो । ‘पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरणको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ, नियमित रूपमा अधिवेशनको आयोजना र व्यवस्थापनको काम खास गरी केही जिल्लामा अधिवेशन बाँकी छ, त्यसलाई कात्तिक मसान्त भित्र सम्पन्न गर्ने योजना बनाएका छौँ, सबै तहका अधिवेशन मङ्सिर मसान्त भित्र सक्ने योजना बनाइएको छ’ पोखरेलले भन्नुभयो ।
पार्टी प्रवेश गरेका र विभिन्न अधिवेशनबाट बिदा भएकाहरूलाई तीन महिना भित्र यथोचित जिम्मेवारी दिने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । पार्टी कमिटी र कार्यकर्ताको कामको विधि स्थापित गर्ने योजना पनि बैठकले बनाएको छ ।
पार्टी कमिटी परिचालन, अन्तर्विरोध व्यवस्थापन र पार्टी एकतालाई आधार बनाएर बैठकले कार्ययोजना बनाएको छ । पार्टीको स्कुल सञ्चालनलाई अभियानको रूपमा सञ्चालन गर्ने योजना बैठकले बनाएको छ । प्रत्येक वर्ष पार्टीका प्रत्येक सदस्य पार्टीको कुनै न कुनै तहको स्कुलमा सामेल भएर स्कुलिङमा भाग लिनु पर्ने र उनीहरूबाट नेतृत्व निर्माण गर्ने अवधारणालाई बैठकले अधि सारेको पोखरेलले जानकारी दिनुभयो ।
सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकले विभिन्न निर्णय गरेको छ । सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र जनप्रतिनिधिको भूमिका वृद्धि गर्ने कुरामा कार्ययोजना केन्द्रित रहेको पोखरेलले बताउनुभयो ।
पार्टी र जनता बिचको सम्बन्धलाई जीवन्त बनाउन केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयलाई व्यवस्थित गर्ने निर्णय पनि बैठकले गरेको छ । परम्परागत प्रचारको ढाँचालाई परिवर्तन गरी सामाजिक सञ्जाल मार्फत प्रचारको कामलाई अघि बढाउने बैठकले निर्णय गरेको छ ।
कामका नयाँ क्षेत्र पहिचान गरी जिम्मेवारी प्राप्त गर्न नसकेका नेताहरूलाई नयाँ क्षेत्रको जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । पार्टीका हरेक कमिटीले वार्षिक बजेट तयारी गरी आम्दानी र खर्चको हिसाबकिताब राख्नु पर्ने बैठकको निर्णय छ ।
पार्टी शुद्धीकरण र सुदृढीकरणको विषय पनि पार्टीको वार्षिक कार्ययोजनामा रहेको छ । पार्टी भित्रको जीवनशैली, आचरण र आर्थिक अनुशासनको कामलाई व्यवस्थित बनाउने विषय पनि कार्ययोजनामा समावेश छन् ।
त्यस्तै पार्टीलाई कसरी बलियो राष्ट्रिय शक्ति बनाउने र मिसन २०८४ मा पार्टीलाई कसरी बहुमतप्राप्त पार्टी बनाउने भन्ने विषय वार्षिक कार्यक्रममा रहेका पोखरेलेले जानकारी दिनुभयो । प्रवासको कामलाई पनि पार्टीको वार्षिक कार्ययोजनामा समावेश गरिएको उहाँले बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, पार्टीमा नियमित रिपोर्टिङ प्रणाली विकास, यूथ समिट आयोजना गर्ने कार्ययोजना पनि बैठकले तय गरेको छ ।

Scroll to Top