नेपालको भारतमाथि ऐतिहासिक जित

काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो ।

यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ । यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । 

आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेको थियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो । गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो ।

यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

Scroll to Top