काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पु-याइने भएको छ ।
रातो मत्स्येन्द्रनाथको रथ यात्रामा सहभागी हुन ललितपुर महागरनपालिकाले चन्द्रागिरि र कीर्तिपुर नगरपालिकालाई निम्तो समेत पठाएको छ ।
ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पु-याइनेछ ।
सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा, झाँकि सहित रातो मछिन्द्रनाथको रथ तानिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘परम्परागत जात्रा, पर्व, धर्म संस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ ।”
आज दिउँसो ४ बजपछि रथ तान्न सुरु हुने जनाइएको छ । गुठी संस्थान प्रमुख आचार्यले भन्नुभयो ‘‘रथ तान्ने सबै तयारी भइसकेको छ, बाजागाजासहित जावलाखेल पु-याइएको चार दिनपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ ।’’
गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो ।
रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।
यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो ।
करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।‘ ‘भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु-याउनुपर्ने परम्परा रहिआएको छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ’’ आचार्यले भन्नुभयो ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ ।