काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सय रुपैयाँको नोटमा नेपालको नयाँ राख्ने निर्णय गरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ५ जेठ ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर तयार गरिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्ने निर्णय गरेको थियो।
यससँगै संविधानसमेत संशोधन गरेर उक्त नक्सालाई नेपालको निसान छापमा समेत राखिएको थियो। तर, सयको नोटमा भने पुरानै नक्सा थियो। मन्त्रिपरिषद्को यो निर्णयसँगै सयको नोटमा रहेको नेपालको पुरानो नक्सा फेरिएर नयाँ नक्सा रहने भएको छ।
मन्त्रिपरिषद् बैठकले ‘नेपालमा हाल चलनचल्तिमा रहेको रुपैयाँ सय दरको बैंक नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने’ निर्णय गरेको हो।