सुदूर पश्चिमको गौरा पर्व चन्द्रागिरिमा पनि मनाइदै

काठमाडौं । गौरा पर्व, नेपालको सुदूर पश्चिम क्षेत्रमा मनाइने चाडर्वहरू मध्येको एक विशेष पर्व हो ! यो पर्व भाद्र महिनाको पञ्चमी तिथि अर्थात् विरुडा पञ्चमीको दिनबाट सुरु हुन्छ ।

विशेषगरी सुदूर पश्चिमेली महिलाहरूले मनाउने महान् पर्व नै गौरा पर्व हो ।

पर्वतराज (हिमालय)को पुत्री अर्थात् देवी पार्वतीको अर्को नाम गौरीबाट गौरा पर्वको नाम रहन गएको भनिन्छ ।

किम्वदन्ती अनुसार प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।

गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजा अर्चनामा विरुडालाई अक्षेता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।

विरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।

धार्मिक अनुष्ठान एवम् पूजाआजाका साथै गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गर्ने गरिन्छ ।
गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मुद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने धार्मिक जनविश्वास रहिआएको छ ।

सुदूरपश्चिमेलीहरूले धुमधामका साथ मनाउने गौरा पर्व सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवम् साँस्कृतिक पर्व हो ।

गौरा पर्व विशेष गरेर डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, अछाम, बझांग, बाजुरा, कैलाली, कंचनपुर जिल्लामा परापूर्वकालदेखि नै मनाउँदै आएको एक विशिष्ट पर्व हो ।

गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।

गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रोदिन बिहान पानीका मुहान , नदीतट र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको गौरा पर्व प्रतिस्थापन गर्ने चलन छ ।

पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ ।

अष्टमीका दिन दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको मानिन्छ !

यो पर्वमा देउडा र धमारी खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेम बाँड्ने गरिन्छ ।

यसैक्रममा सुदूरपश्चिमबाट चन्द्रागिरिमा आएर बसोबास गरिरहेका सुदूरपश्चिमेलीहरुले यसवर्ष चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा गौरा पर्व मनाउन लागेको सुदूर पश्चिम चन्द्रागिरि समाजका सचिव दिपेन्द्र महराले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

Scroll to Top