१० वर्षपछि भारत विश्वकपको फाइनलमा, भोलि दक्षिण अफ्रिकासँग उपाधिका लागि भिड्ने

काठमाडौँ । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो ।

यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो ।

भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा भएको ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग निराश बनेको थियो ।

त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएको भारत यो पटक उपाधि चुम्ने दाउमा छ ।

दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुने छ ।

Scroll to Top