अन्तराष्ट्रिय मातृभाषा दिवसमा जनपथमा साहित्य गोष्ठी

अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा जनपथ माध्यमिक विद्यालय, कलंकीले साहित्य गोष्ठी सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख विचारी प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न साहित्य गोष्ठीमा विभिन्न भाषामा रचिएका साहित्यिक रचना वाचन गरिएको थियो । कार्यक्रममा विविध सांस्कृतिक वेशभुषामा आएका विद्यार्थीहरूले आ-आफ्ना मातृभाषाका सिर्जना वाचन तथा सांस्कृतिक प्रश्तुती दिएका थिए । कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित कविहरूले कवि सुरेश किरण र सुजना श्रेष्ठले नेपाल भाषामा, कवि इश्वर थोकरले तामाङ भाषामा र कवि सन्दिप काफ्लेले संस्कृत भाषामा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा रश्मी नापित(नेपाल भाषा) तथा आइती घले, मिनामाया न्यौपाने लगायतका शिक्षकहरूले नेपाली भाषाका कविता सुनाउनु भएको थियो ।

विद्यार्थीहरूका तर्फबाट आशिका तामाङ, रिंकी शर्मा, जेनिशा तामाङ, राज बुलुन, सुब्रिना तामाङ, साहिल राजा, अनिशा श्रेष्ठ लगायतका विद्यार्थीहरूले तामाङ, भोजपुरी, मैथिली, मगर, उर्दु, नेपालभाषा र नेपालीभाषाका कविता तथा अन्य विधाका साहित्यिक रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख विचारी प्रसाद अधिकारीले आजको समावेशिता सहितको संघिय राज्य व्यवस्था रहेको हाम्रो मुलुकमा रहेको विविध भाषिक पहिचानलाई यस्तै कार्यक्रमले थप बलियो बनाउने बताउनुभयो । विद्यालय स्तरमा मातृभाषाको यो कार्यक्रम ऐतिहासिक भएको बताउदै विद्यालयले देखाएको मातृभाषा प्रतिको सम्मानको प्रशंसा गर्नुभयो । विद्यालयका प्रधानाध्यापक जीत बहादुर लामिछानेले भाषिक विवधता देशको गहनाको रुपमा रहेको बताउँदै जनपथ माध्यमिक विद्यालयमा ६५ जिल्लाका विद्यार्थीहरू अध्ययन गरिरहेको र विद्यार्थीको मातृभाषामा विविधता रहेको बताउनु भयो । उहाँले विद्यालयमा स्थानीय विषयका रुपमा कक्षा १ देखि ८ सम्म नेपाल भाषाको अध्यापन हुने गरेको पनि बताउनु भयो ।

साहित्य वाचनको विच विचमा विद्यार्थीहरूले विभिन्न भाषाका गीतहरूमा नृत्य प्रश्तुत गरेका थिए । सहायक प्रधानाध्यापक किरणशाली घिमीरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नेपाल भाषा शिक्षक रश्मि नापितले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक जीत बहादुर लामिछानेले गर्नुभएको थियो ।  

Scroll to Top