३ कवि ३ कविता

नेपाली कविताको सन्दर्भमा हाम्रो विगत उन्नत र वैभवशाली रहेको इतिहास प्रष्ट, स्पष्ट छ ! यद्यपि वर्तमान र आगामी कविता यात्राकाबारे केही छलफल आवश्यक देखिन्छ । निरन्तर नुतन प्रयोग र नवीन चिन्तन प्रसारणका दृष्टिबाट र उपस्थित समयको आश्चर्यजनक भोगाइको अनुभुतिले निर्माण गरिरहेको आजको मान्छेको मनस्थितिबाट अनेकथरी भावनाहरू कवितामा व्यक्त भइरहेक छन् । विविधतायुक्त शैली , शिल्प र कलाको माध्यमबाट आजको कविता अध्ययन गरियो भने निशन्देह सम्भावनाको व्यापकता गोचर हुन्छ । अहिलेको कविताले ग्रहण गरिरहेको आकार र गरिरहेको संवाद बहुआयामिक र बहुकेन्दृत छ । समकालिन युवा पंक्तिको जबर्जस्त काव्यिक प्रस्तावना सैद्धान्तिकरुपले प्रंशसा योग्य छ । आजको “शनिबार – साहित्यबार” शृङ्खलामा आआफ्नो हस्ताक्षर छाड्न सफल ३ युवा कविहरु आर्यश शर्मा , सरला क्षेत्री र दोस्ताज महेशका ३ कविता प्रस्तुत गरिएको छ !

पाठेघरको मूल्य

 

सरला क्षेत्री

म जन्मिँदा बूढो भइसकेको थियो घरको जग
थपिएको थियो ठूलो जिम्मेवारी आमाको काँधमा

यसरी हुर्किँदै जाँदा
बाधिँदै गएँ समाजमा
जेलिँदै गएँ “मर्यादाका परिधिहरूमा”
सत्ता / समाजले निरन्तर कोरिरह्यो लक्ष्मण रेखा
यस्ता निस्पट्टताहरूमा निस्सासिँदै हुर्कियो बालापन ।

खेल्ने बहानामा कसैले छोइदिन्थ्यो योनि
र भन्थ्यो
“तिमीलाई नजिक पाउँदा फुरुङ्ग हुन्छु म”
अबोध म के बुझ्थें र ? तिनका दुषित फुरूङ्ग

फेरि भन्थ्यो –
“तिमीलाई चाहिने जति खर्च म सबै व्यहोर्छु”
यसरी एकपछि एक लेखिँदै गए हिंसाका विक्षिप्त अध्यायहरू ।

जब “कुत” मा बस्न दिने मालिकले काखमा राख्दै
निमोठ्थ्यो मेरो बालिका छाती
र भन्थ्यो “तिमी ठूली भएपछि तिमीसँगै बिहे गर्छु”
फेरि भन्थ्यो-
“मलाई थाहा छ तिमीले मलाई खुशी राख्न सक्छौ”
अबोध म के बुझ्थें र ? तिनका दुषित खुशीहरू

चुपचाप रुन्थें घरको कुनामा
सुनाउन सक्दिन थिएँ घरको बूढो भएको जगलाई
आमाको शोषित काँधलाई
यसरी मनमा रोपिने रहेछ विष्फोटनको बम
र पड्किने रहेछन् बालिका “जीवनहरू”

जब जब यस्ता विभत्स घटना बाहिरिन्छन् मिडियामा
म त्यही बिझाउने बाल्यकालमा पुग्छु
र सोच्छु-
म संयोगले मात्र क्षतविक्षत् पड्किनबाट जोगिएको जीवन हुँ !

भर्खरै नाबालिका जीवनको मिलापत्र गरिएको खबर आयो
तोकियो अरे रू.५०००/- जरिवाना
ए विवेकी मानिसहरू !
एकदिन सबै आमाहरूको बलात्कारपछि भयो भने हत्या
कति तोक्छौ पाठेघरको मूल्य ??

——————————————————-

ऐंठन

आर्यश शर्मा


मलाई बहुलाउन मन लागेको छ
सद्दे भएर गर्न नपाएका सबै सबै कुरा
बहुलाएर मनपरी गर्न मन लागेको छ

आकाशमा हिँडदै
धर्तीमा पौडिँदै
पानीमा उड्न मन छ

विपनाबाट हटेर
सपनामा टेकेर
मलाई जीवन होइन
मलाई मृत्यु बाँच्न मन छ

समयसँग सम्भोग गरेर
कविताजस्तो जिन्दगी बाँचिएन
यो क्रूर समयलाई
निर्मम बलात्कार गर्न मन छ

जिन्दगीभर
सदावहार पछ्याइरहयो यो दुखले
बटुलेर संसारभरीका सबै दुख
बूढो गुलमोहरको रुखमा लगेर झुन्ड्याइदिन मन छ

भूपी मात्तिन नपाएको दशकौं भैसक्यो होला !
लगेर चार थुङ्गा बोत्तल चढाउन मन छ
देवकोटा सार्है तलतलमा होलान्
बाईसौं शताब्दीको
बाईस खिल्ली चुरोट चढाउन मन छ
ढलिरहेका बिरामीहरुलाई
मृत्युको कविता सुनाउन मन छ
जलिरहेका लासहरुलाइ
जिवनको कविता सुनाउन मन छ

के भएको हो यो शताब्दीलाई?
कहाँ हराएको हो त्यो सभ्यता ?
पोइजन सम्म किन्ने पैसा नभएर
डिप्रेसनमा बाँचिरहेको यो युगलाई
एउटा धारिलो चक्कुजस्तो केही
उपहार दिन मन छ

बाटोमा हराएका मानिसहरु
सोधिरहेछन घर फर्कने बाटो
आर्यघाट देखाइदिन मन छ
मन्दिर सोध्नेहरुलाइ
शौचालय देखाइदिन मन छ
मस्जिद सोध्नेहरुलाइ
भट्टी देखाइदिन मन छ
ध्यान गर्न निस्किएको बुद्धलाई
वेश्यालय पठाइदिन मन छ

सिंहदरबारको गेटैमा गएर मुत्न मन छ मलाई
यो देशको नाउँमा एकचोटि थुक्न मन छ मलाई !!

मलाइ बहुलाउन मन लागेको छ
सद्दे हुँदा गर्न नपाएका सबै सबै कुरा
बहुलाएर मनपरी गर्न मन लागेको छ !

प्रिया तिमिलाई सम्झिएन नभन्नु
म होसमा हुँदा कहिल्यै बिर्सन सकिँन तिमिलाई
बहुलाएर एकपटक
साँच्चै तिमिलाइ बिर्सिदिन मन छ ।

————————————————–

म ह्याङ ओभरमा थिएँ

दोस्ताज महेश

बाँकी बचेको
शौचालयमा थोरै पानी थियो
मैले त्यही पिएँ

उकालो लागें !

उकालोमा
आमाहरु भेटिए ।

बाबू ! ” हामी नछुईने” भएका छौं
हामीलाई छुन हुँदैन
नछोउ है भन्नुभयो

मैले ती आमाहरुलाई अंगालो हालें !

उकालोबाट
म ओरालो झरें !

त्यहाँ
जँड्याहाहरु भेटिए ।

उनिहरु
काट्ने मार्ने
मार्ने काट्ने
कुरा गर्दै थिए ।

उनिहरु एक एकलाई
एक स्टिक गाँजा
तान्न पठाएँ !

तत्पश्चात उनिहरु
दोस्त !
यहाँ दुश्मनलाई पनि
बचाउँनु पर्छ है भन्न थाले !

ओरालोबाट पुनः
म उकालो हिंडे !

त्यहाँ
बि एस हानिरहेका
विद्यार्थी भाइबैनिहरु देखिए !

मैले उनीहरुलाई
फुटबल / क्रीकेट / गितार

केही थान किताबहरु दिएँ
उनिहरु भविष्य खोज्न हिंडे !

म फेरि ओरालो हिंडे
जहाँ
फ्रस्ट्रेड
दोस्ताजकी प्रेमीकासँग भेट भयो !

उनी
म त ” भुतपूर्व ” हुँ भन्दै थिईन
मैले उनलाई वर्तमान समय दिएर
त्यहाँबाट
उकालो उक्लिएँ !

स्कुल नभएको गाउँमा मास्टरहरु भेटिए
उनीहरुलाई मैले चक र पेन्सिलहरु दिएँ !

दोबाटोमा पुन: प्रेमिकाहरु भेटिए
मैले उनिहरुलाई चुम्बन दिएँ !

चौतारीमा
कामै नगरी ” गफ ” गरिरहेका नेताहरु भेटिए
उनीहरुलाई तथानाम गाली दिएँ !

जीवनको उराठ बगरमा
वेश्याहरु भेटिए
उनीहरुलाई गुलावी फूलहरु दिएँ !

यादहरुमा
बचपनका यारहरु भेटिए
उनीहरुलाई पोस्टकार्ड र गुच्चाहरु दिएँ !

म खोज्दै थिएँ नश्वर देहमा अजर आत्मा !

त्यति नै बेला
मलाई लिन आएको काल भेटियो
मैले उसलाई सल्फास दिएँ !

समथल खाल्डो
उकालो ओरालो
उकालो ओरालो
समथल खाल्डो
ओरालो ओरालो
समथल खाल्डो
उकालो उकालो
ओरालो ओरालो

म हिंडिरहेको थिएँ
सिंगै युग बोकेर
ह्याङ ओभरमा !

Scroll to Top