गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो माग

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर  गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। 

उनका अनुसार अख्तियारले मर्हजनसहित ४ जना कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाइ फरक-फरक शीर्षकमा पाँच थान मुद्दा दायर गरिएको हो।  उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ।

नगरप्रमुख महर्जन, नगर उपप्रमुख नमूना अधिकारी,तत्कालीन प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र तत्कालीन राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समितिका सदस्य सचिव श्रीराम आचार्यले  २० करोड ४९ लाख ५३ हजार ७५० रुपैयाँ राजश्व हिनामिना गरेको अख्तियारले जनाएको छ।

उनीहरूबिरुद्ध प्रत्येक व्यक्तिलाई सोही रकमको दोब्बर जरिवाना सजायको माग गरिएको छ।

Scroll to Top