मनोज लोहारका कविताहरु

“शनिबार – साहित्यबार” अन्तर्गत हामी प्रारम्भिक चरणमा कवितालाई केन्द्र बनाएर तपाइँहरुसँग साहित्यिक संवादमा छौं । सोही साहित्यिक संवादको निरन्तरतामा आजको शोणितपुर “शनिबार – साहित्यबार” शृङ्खलामा पछिल्लो समय साहित्यका विविध विधामा वैचारिक सृजनशिलता मार्फत आफ्नो उपस्थिति जनाउन सफल रौतहटका स्रष्टा मनोज लोहारको ३ओटा कविता प्रस्तुत गरेका छौँ ।

मनोज लोहार

धन्यवाद

फूल हुँ म
तर नफूल्न सक्छु

तिमीले निरन्तर बम बर्साइरहेका छौ मेरो बस्तीमा
धन्यवाद अब म राक्षस बन्छु !

—————————————–

तिमी भए पुग्छ

तिमी पो जून हौ
आकाशको झाडीमा लुकामारी गरिरहनु पर्छ,

तारा हौ चम्किरहनु पर्छ ।

फूल हौ
बगैँचाको रंगीचंगी अनुहारको उत्सव चाहिन्छ ।

नदी हौ
छातिमा यात्राका असंख्य पत्थर चाहिन्छ ।

म त के नै हुँ र ?
मलाई त सिर्फ तिमी भए पुग्छ….!

घर सम्झिरहेको मानिस

यहीँको बगरमा त हो
तिमी भेटिएको पहिलो पटक ।

साँझ घर फर्कनेबेला
अलिपरको यात्रु प्रतिक्षालयमा
तिमीलाई पुन:देखेको थिएँ –
बस कुरिरहेको ।

कतिकति आन्दोलनमा पछि त सँगै उभियौँ ।

यहीँको मैदानमा छोईडुम खेल्थ्यो तिम्रो बालापन
पढेको थिएँ कुनै क्याप्सनमा –
यहीँको नदीमा ढुङ्गा फ्याँक्दै
घण्टौँ बस्थ्यौ
यहीँको नदीको पानी ओरालेर आँखामा
लेखेका थियौ कुनै अनाम प्रेमीलाई प्रेमपत्र
जसलाई मैले यही भूगोलको कुनै खप्तड गाँउमा कठ्याङ्ग्रिँदै सुनेको थिएँ !

यहीँको हावामा
तिम्रो किशोर उत्साह उडिरहन्छ
यहीँको माटो र माटोजस्ता मानिसको लागि
हृदय निचोरेर बनाएकी थियौ प्लेकार्ड
जो अहिले यहीँको फुटपाथमा बेवारिसे छ ।

तिमी र मैले टेेकेको जमिन
यहीँको हो /यहीँ छ ।

तिम्रो स्मृति / इतिहास ,
यहीँ गाडिएको छ
तिम्रो यात्रा /आन्दोलन ,
यहीँ उभिएको छ
तिम्रो सपना , यहीँको चोक/चौबाटोमा ओछिएको छ ।

यहाँका प्रस्तरझैँ मानिससँग तर्सिएर
तिमी पुगे पनि धरतीको अर्को भूगोलमा

चाहेजति भाग्न सक्छौ
यहाँको कुरूपतासँग फ्रस्टेड भएर ।

यहाँ मान्छेलाई मान्छे नदेख्ने आँखाहरू छन्

यहाँ देशकै छातिमा
सरकारी बन्दुक ताक्नेहरु छन्

तिमी छाडेर आफूलाई
आँपका रूखको चकचके हाँगाहरूमा
चढेर अक्षरको प्लेन, पुग्न सक्छौ परदेश ।

खाडीको उग्र तापमा
रगड्न सक्छौ ओसिएका आशाहरु
वा युरोपको चिसोमा
रगड्न सक्छौ दास परिचय
पुगेर परदेश
हेर्न सक्छौ-संसारका सबै नदी खुम्चिरहेकै छन्
संसारका सबै शहरमा उभिएकै छ कङ्क्रिटको जङ्गल ।

घर छाडेर जहाँजहाँ पुग्छौ
पुग्नू तिमी ,
तर तिम्रो स्मृति / इतिहास ,
यहीँ गाडिएको हुन्छ ।

तिम्रो सपना ,
यहीँको चोकचौबाटोमा छरिएको हुन्छ ।

घर छाडेर जहाँजहाँ पुग्छौँ
पुग्नू तिमी ,
तर म तिमीलाई संसारको जुनै भूगोलबाट
जहिल्यै फर्किए पनि
स्वागतमा कुरिरहने छु !

तिम्रा सुमधुर स्मृतिहरु
यहीँको जमिनमा गाडिएको हुन्छ , यसैले यहीँ हुनेछु ।

सक्दिँन
असङ्ख्य असङ्ख्य पदचापहरु पछ्याउन
यसैले यहीँ हुनेछु !

Scroll to Top