सरस्वती, सरस्वती जयन्ती र हाम्रो कामना

  • प्रा.डा. विष्णुप्रसाद देवकोटा

समाज देश र समुदायको अपूर्व हित र उपकार गर्ने देवता र महामानवको जयन्ती मनाउने चलन प्राचीन हो । यस प्रकारको जयन्ती र पूजा सर्वप्रथम भगवान् कृष्णले गर्नु भएको थियो, सरस्वतीदेवीको । त्यसपछि गुरुको क्रोधबाट नष्टविद्य याज्ञवल्क्यले त्यसको अनुसरण गर्नुभयो र सरस्वती कवचको सिद्धिबाट शुक्ल-यजुर्वेद र अन्य नष्ट भएका विद्याहरूलाई प्राप्त गर्नुभयो । त्यसपछि विद्याव्यसनी उनका शिष्यहरूले यस परम्परालाई निरन्तरता दिए र सो परम्परा हालसम्म आइपुग्यो । वसन्तपञ्चमी र सरस्वती-जयन्ती माघ शुक्ल पञ्चमीका दिन पर्दछ । पञ्चमी पूर्णा तिथि मानिएको छ । यस दिन गरिएका पूजा आजा, सत्कर्म र प्रारम्भहरू पूर्ण र सफल हुन्छन् भन्ने विश्वास छ । आजको यस दिनलाई नै नेपालमा श्रीपञ्चमी र वसन्तपञ्चममी पनि भनिन्छ । श्रीको-लक्ष्मीको या धन पैसाको लेनदेन गरिने, पैसा तिर्ने भाका आजका दिनलाई राख्ने प्राचीन चलनले गर्दा यस दिनलाई श्रीपञ्चमी मानिएको हो । जाडोको कमी र वसन्तको प्रारम्भ नजिक भएकोले यस दिनलाई वसन्त पञ्चमी पनि भनिएको हो । यसै दिन लक्ष्यसाधनमा बाधक नबनून् भनेर रति र कामदेवको पूजा पनि गरिन्छ । राजाहरूबाट आजकै दिन वसन्तश्रवण हुने गर्दथ्यो ।

आज नेपाल र भारतका विद्यालय र महाविद्यालयहरूमा सरस्वतीको श्रद्धा र उल्लासपूर्वक पूजा गरिन्छ । रङ्गीविरङ्गी पुष्प र मालाद्वारा मण्डपहरू सजाइन्छन् र सरस्वतीको पूजा गरिन्छ । घटस्थापना गरी दीप, कशल र गणेशको पूजा गरेर घडामाथि सरस्वतीको स्थापना गरेर आह्वान र विधिपूर्वक पूजा हुन्छ । आजका आकर्षण र सरस्वतीका प्रिय नैवेद्यहरू हुन्ः- नौनी, दही, दूध, लावा, सेता तिलका लड्डु, सेता उखु, केरा, बयर, घिउमा भुटिएको पिठो (पञ्जरी), अन्य ऋतुफलहरू, पेडाहरू । पूजा र प्रसाद वितरणपछि आज सरस्वतीको गुणानुवादको रूपमा प्रवचन, कविता पाठ, भजन र अन्य प्रज्ञामूलक कार्यक्रमहरू गरिन्छन । केही वर्षपूर्व यसै दिन निर्धारित विषयहरूमा शास्त्रार्थ हुने गर्दथ्यो र प्राचीनकालमा लिखित नाटक र एकाङ्की आदिको प्रथममञ्चन र प्रदर्शन हुने गर्दथ्यो । यो तथ्य कालिदास र भवभूति आदिका कृतिहरूको प्रस्तावनाबाट ज्ञात हुन्छ ।

लक्ष्मी धनकी अधिष्ठात्री देवी र महाकाली शक्तिकी अधिष्ठात्री देवी भएझै सरस्वती विद्या र ज्ञानकी आधिष्ठात्री देवी हुन् । हाम्रो सनातन नेपाली संस्कृतिमा तेत्तीस कोटी देवताहरू मानिए तापनि मानिसको सबैभन्दा सानो अवस्था अक्षरारम्भको वेलादेखि नै हाम्रो मनमस्तिष्क र नजरमा समेत आउने र परिचित हुने देवता सरस्वती हुन् । सरस्वती अक्षरारम्भदेखि नै दृष्ट, श्रुत र परिचित हुन्छिन् चित्र र ‘या कुन्देन्तुषारहारधवला- आदिका माध्यमले । आज सरस्वतीको दर्शनपूर्वक आफ्ना साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउनु राम्रो र शास्त्रीय परम्परा हो । सरस्वती ज्ञान र प्रविधिकी प्रतीक हुन् । ज्ञान र प्रविधिको सर्वोत्कृष्टता, अपरिहार्यता र व्यावहारिकता भूत, भविष्यत् र वर्तमान तीनै कालहरूमा सर्वसम्मत. र अपरिहार्य बनेका छन् । जसको प्राप्तिमा सरस्वतीको अनुग्रह आवश्यक हुन्छ । सरस्वती मानवमात्रकी साझा देवता हुन् । वैष्णव, शैव र शाक्त एवं स्मार्त्त सबै सम्प्रदाय र धर्ममा सरस्वतीको सहर्ष र सोल्लास पूजा आराधना र सत्कार हुने गर्दछ । सरस्वतीका वरदपुत्र विद्वान्हरूको सबैले आदर र सत्कार गर्दछन् । स्तुतिकाव्यहरूमा सरस्वती सेतो हाँसमा चढेकी, दाहिने हातमा रूद्राक्षको जपमाला लिएकी, देब्रेहातमा दिव्यवस्त्रले बेरिएको सुनका पन्ना भएको उत्कृष्ट ज्ञान दिने पुस्तक लिएकी, शुक्लवर्ण भएकी, वेदको अर्थ लगाउन व्यस्त, वीणापुस्तकधारिणी, आफ्ना भक्त र आराधकहरूलाई ज्ञानको माध्यमले अभयदान दिने, जडता र अज्ञानलाई नष्ट पार्ने, हातमा स्फटिकको माला लिएकी, स्वेत कमलमाथि बसेकी, सद्बुद्धिका दाता, र परम शक्तिशालिनी रूपमा वर्णित छन् । साथै उनी कुन्द (करवीर) पुष्प जस्ती गोरी, पूर्णिमाको चन्द्रमा जस्ती र हिमालयको हिम जस्ती स्वेत वर्णकी छिन् । वीणाको दण्डले हात सुशोभित भएकी, ब्रह्मा, विष्णु र शङ्करद्वारा स्तुति र गुणगान गरिएकी छन् । देवी भागवतमा उल्लिखित बुधजननी, जिह्वाग्रवासिनी र सर्वपूजिता आदि सरस्वतीका विशेषणहरूले उनको शास्त्रीय विशेषताहरूलाई स्पष्ट पार्दछन् ।

सरस्वतीको वीणाको नाम हो ‘कच्छपी यसको तात्पर्य हो-कच्छपी वा कछुवाझै विद्यार्थी, प्राध्यापक, प्राविधिक, वैज्ञानिक, उद्योगपति नेता र कृषक आदि देशका सेवकहरूले आफ्नो, उद्देश्य, लक्ष्य र कर्तव्यको सिद्धिमा अन्तर्मुख हुनुपर्दछ, विशिष्टता आर्जित गर्न ध्यानमग्न र तपस्यारत हुनुपर्दछ । सुरू गरेको काममा नै समग्र ध्यान र शक्ति लगाउनु पर्दछ भन्ने । भगवान् कृष्णले भन्नुभएको छ ‘कूर्माङ्गानीव सर्वशः । साधकले कछुवाले आफ्ना अङ्गहरू लुकाएझै आफ्ना बहिर्मुखी प्रवृत्तिहरूलाई नियन्त्रित र कम पारेर आफ्नो लक्ष्यमा समर्पित हुनुपर्दछ । देशमा लोकतन्त्र कायम भइसकेको अवस्थामा देशका विद्यार्थीहरूले यस्तै साधक भएर नै अध्ययन गर्नुपर्दछ, राजनीतिमा समय बिताएर होइन । तबमात्र देश र हामी उन्नत हुनेछौं ।

ब्रह्माद्वारा विरचित सरस्वतीको स्तोत्रमा प्रतिदिन र यस सरस्वती पूजनोत्सवका दिन गरिने स्तोत्रपाठको फलादेश यस्तो गरिएको छ – भक्तिभावले नम्र भएर प्रतिदिन प्रातःकालमा जसले यो सरस्वतीस्तोत्रको पाठ गर्दछ, त्यो व्यक्ति वाणी -प्रयोग र शब्दज्ञानमा मूर्धन्य, वाचस्पतिले पनि जान्न र वर्णन गर्न नसक्ने वैदुष्य भएको कृतिमान् हुन्छ, उसको कण्ठ मधुर र सुरिलो हुन्छ, त्यसले चाहेको वस्तु प्राप्त गर्न सक्दछ, त्यसलाई माता सरस्वतीले छोरालाईझै संरक्षण दिन्छिन्, सौभाग्यशाली हुन्छ, उसका कविता र काव्यहरू प्रभावी र आकर्षक हुनेछन्, विघ्नहरू नष्ट भएर जानेछन् । विद्याध्ययन निर्विघ्न एवं प्रभावी हुनेछ, लोकमा त्यसको कीर्ति र प्रसिद्धि फैलनेछ । दीर्घायु, लोकपूज्य र राजमान्य हुनेछ । त्यो साधक समस्या सङ्ग्राममा विजयी हुनेछ ।

यस वर्षको पूजाबाट सरस्वती हाम्रा दाहिना बनून् । देश समाज र हामी प्रविधि र कठिन श्रममा सफल होऔं । हामी आत्मनिर्भर र देश दैनिक उपभोग्य वस्तुदेखि लिएर अन्य उपकरण र औद्योगिक उत्पादनमा दक्ष र समर्थ बनोस् । लाखौं खर्च गरेर आयोजित व्यापार महोत्सवमा हामी आफ्नै उत्पादन र वस्तुहरूको प्रदर्शन गर्न सकौं र विदेशी सामान र उपकरणको प्रदर्शनबाट नाक फुलाउने प्रवृत्ति हटोस् । हामी परउपजहरूका क्रेता मात्र नबनौं, बनौं बरू विक्रेता । नेताहरू सत्याग्रही बनून्, दुराग्रही होइन । पार्टीका घोषणापत्रहरूमा उल्लेख भएअनुसार हिमाली र पहाडी पूर्वपश्चिम राजमार्ग खन्न र सम्पन्न गर्न थाली हालौं । हामी आफ्नोपनालाई स्वीकारेर विकसित पारेर नै देश विकासमा लागौं । ज्ञान र प्रविधिकी देवतासँग यही आशा र भरोसा राखौं ।

Scroll to Top