यस वर्षको हरि उत्कृष्‍ट प्रतिभा पुरस्कार भट्ट सुकुमारलाई

हरि साँस्कृतिक केन्द्र गोरखाले हरेक वर्ष प्रदान गर्दै आएको हरी उत्कृष्ठ प्रतिभा पुरस्कारबाट यस वर्ष सुरेश भट्ट “भट्ट सुकुमार” पुरस्कृत हुनु भएको छ । गोरखामा लामो समय शिक्षण पेशामा आवध्द भिमसेनथापा गाउँपालिकाका भट्ट हाल अमेरिकामा बस्दै आउनु भएको छ । वसन्त पञ्चमीको दिन गोरखा सदरमुकाममा आयोजित एक भव्य समारोह विच भट्टद्वारा लिखित पुस्तक सोलीडोली लोककाव्यलाई २०७९ को हरि उत्कृष्‍ट प्रतिभा पुरस्कार प्रदान गरिएको केन्द्रका संरक्षक इश्वरचन्द्र देवकोटाले बताउनु भयो ।

हरि सांस्कृतिक केन्द्रको स्थापना दिवसको अवसरमा पारेर केन्द्रको आफ्नै भवनमा आयोजित समारोहमा प्रमुख अतिथि गैँडाकोट प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले कवि भट्टलाई पुरस्कार प्रदान गर्नुभएको थियो । संस्थापक संरक्षक स्व. राजेश्वर देवकोटाले आफ्ना पिता हरिभक्त देवकोटाको नाममा स्थापना गर्नुभएको सो पुरस्कारको राशी नगद रु २५०४६ र प्रमाण पत्र रहेको छ । गोरखामा जन्मेर, गोरखामा रहेर साहित्य सिर्जना गरेका, देशका विभिन्न ठाउँमा जन्मेर गोरखाका विषयमा कृति प्रकाशन गरेका तथा गोरखामा जन्मेर विश्वका कुनै पनि ठाउँमा बसोबास गरी काव्य प्रकाशन गरेका साहित्यकारहरुलाई सो केन्द्रले उत्कृष्ठ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कार वितरण संगसंगै केन्द्रले वसन्त पञ्चमीकै दिन विभिन्न कार्यक्रम गरि आफ्नो स्थापनाको ३४ औं वार्षिक उत्सव मनाएको छ । सो अवसरमा प्रा डा नारायणप्रसाद खनाल द्वारा लिखित “राजेश्वर काव्यम् “ शान्ता भट्ट देवकोटा रचित “ उन्मुक्त मन” कविता संग्रह र केन्द्रको मुखपत्र आवर्तनको लोकार्पण गरिएको छ।

साथैै, दिवसकै अवसर पारेर केन्द्रले जिल्लाका माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न गरेको छ । वक्तृत्वकलामा युनाइटेड इङ्लिस बोर्डिङ स्कुलकी साधना थापा मगर प्रथम, जनता मावि आँपपिपलकी मन्दिरा भुजेल द्वितीय र मिरकोट माविकी आस्था पाण्डे तृतीय भइन् । यसैगरी मण्डली माविकी सृष्टि धिताल र महेन्द्र लीला माविका सिजन ढकाल सान्त्वना भएका छन् । बिजेता विद्यार्थीहरुले क्रमश ६ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । साहित्य र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले २०४६ सालमा संस्थापना भएको संस्थाले अहिलेसम्म साहित्यको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको कार्यक्रमका सहभागीहरुले बताए । कार्यक्रममा साहित्य प्रेमीहरूको सहभागिता रहेको थियो ।

केन्द्रकी अध्यक्ष डा. प्रभादेवी देवकोटा (कैनी) ले अध्यक्षता गर्नुभएको सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ अनालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार विजराज न्यौपानेले पुरस्कृत कृतिको समिक्षा गर्दै भट्टको कृति सोलीडोलीले लोकगाथा बोकेको र लोकमा प्रचलित उखान टुक्काको संरक्षणमा पनि यसले योगदान दिएको चर्चा गर्नुभयो ।

कवि नारायण पोखरेल , प्रकाश चापागाई , मुना धिताल , प्रा सीताराम अधिकारीले राजेश्वरको व्यक्तित्व र कृतित्व बारे सुमधुर काव्यात्मक प्रस्तुति दिनुभयो भने प्रा जगन्नाथ पंडित, प्रा डा नारायण खनाल, लगायत कविहरूले कविता वाचन गर्नु भएको भयो।

केन्द्रले हरेक वर्ष अन्तर मा वि स्तरिय निबन्ध प्रतियोगिता गर्दै आएको छ । पछिल्लो समय संस्थाका संरक्षक इश्वरचन्द्र देवकोटाको अग्रसरतामा हरि उत्कृष्ट प्रतिभा पुरस्कार संगसंगै आगामी बर्षबाट राजेश्वर देवकोटा विद्वत वृत्त र माया देवी स्मृति पुरस्कार पनि थप गरिने बताइएको छ ।

Scroll to Top