काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित हुने महाधिवेशनको उद्घाटन दिउँसो २ बजे हुनेछ।
कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। बन्दसत्र १९ र २० असोजमा तथा निर्वाचन कार्यक्रम २१ र २२ असोजमा हुने तय गरिएको छ।
महाधिवेशनमा विभिन्न राजनीतिक दल तथा भारत, चीन, अमेरिका लगायतका मुलुकबाट पाहुना आमन्त्रण गरिएको छ। प्रतिनिधिका लागि काठमाडौंका विभिन्न क्षेत्रमा आवास तथा भृकुटीमण्डपमा खाना व्यवस्थापन गरिएको छ।
महाधिवेशनस्थलमा स्वास्थ्य सेवाका लागि ३० जना स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरिएको छ। आकस्मिक अवस्थाका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिने कांग्रेसले जनाएको छ।