काठमाडौं, जेठ २० । चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोट अस्पतालले आफ्नो स्वास्थ्य सेवा विस्तार गर्ने क्रममा निःशुल्क आँखा उपचार सेवा सञ्चालन गर्ने भएको छ।
अस्पतालले हरेक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आँखा सम्बन्धी परामर्श तथा उपचार सेवा उपलब्ध गराउने भएको हो ।
अस्पतालका अनुसार आँखासम्बन्धी सामान्य समस्या भएका सेवाग्राहीलाई स्थानीयस्तरमै सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो। यसबाट विशेषगरी ज्येष्ठ नागरिक, विद्यार्थी तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय स्वास्थ्य संस्थाका रूपमा रहेको थानकोट अस्पतालले हाल बहिरङ्ग (ओपीडी) सेवा, २४सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला सेवा, बर्थिङ सेवा, परिवार नियोजन सेवा तथा विभिन्न आधारभूत स्वास्थ्य सेवाहरू सञ्चालन गर्दै आएको छ। पछिल्ला वर्षहरूमा अस्पतालले सेवा विस्तार र स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएको छ।
अस्पताल प्रशासनले आँखा उपचार सेवा सञ्चालनसँगै स्थानीय नागरिकलाई घर नजिकै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास थप सुदृढ हुने जनाएको छ।
थानकोट अस्पतालले आँखा उपचार सेवा विस्तार गर्ने भएपछि सामान्य आँखा परीक्षण तथा परामर्शका लागि अब टाढाका अस्पताल धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने देखिएको छ ।