काठमाडाैं । चन्द्रागिरि विकास मञ्चद्वारा आयोजित दोस्रो हाईकिंग (पैदल यात्रा) कार्यक्रम सम्पन्न गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाको उपप्रमुख बसन्ती श्रेष्ठले उद्घाटन गरेको पदयात्रा कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नं ६ को वडा कार्यालयबाट सुरु गरेर महांकाल भैरव मन्दिर हुँदै राम लक्ष्मणले घुँडा धसेको ठाउँ, चन्द्रागिरि भालेश्वर महादेव मन्दिर, देउराली, पानीघाट हुँदै पुनः वडा नं ६ को कार्यालयमा आएर समापन गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाभित्र रहेका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक ठाउँहरूको अध्ययन, अवलोकन, निरीक्षण र अनुसन्धानको माध्यमबाट पर्या-पर्यटनको विकास गर्ने साथै प्रकृति संरक्षणको क्षेत्रमा सार्वजनिक बहस सिर्जना गर्ने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
चन्द्रागिरि विकास मञ्चले चैत्र २८ गते आयोजना गरेको दोस्रो हाईकिंग कार्यक्रममा सहभागी हाईकर्सहरूलाई बिहानको नास्ता, दिउँसोको खाना र एक एक थान टि-सर्टको व्यवस्था समेत गरिएको थियो ।
२ सयजना भन्दा बढी सहभागिहरूले पदयात्राका क्रममा महांकाल स्थान सामुदायिक वन अन्तर्गत नयाँ बन्दै गरेको पदमार्ग, धार्मिक, सांस्कृतिक, ऐतिहासिक भैरव मन्दिर, गणेशदेवी वनदेवी मन्दिर, संसारी देवीको मन्दिर, ऐतिहासिक राम लक्ष्मणले घुँडा धसेको ठाउँको अवलोकन एवम् दर्शन गर्नुका साथै चन्द्रागिरि भालेश्वर मन्दिर लगायत स्थानीय महत्वपूर्ण क्षेत्रहरूको विषयमा नजिकबाट बुझ्ने र आफ्नो स्थानीय सम्पदाका बारे नयाँ अनुभव समेत हासिल गर्न कार्यक्रम सफल भएको चन्द्रागिरि विकास मञ्चले जनाएको छ ।