काठमाडौं । चन्द्रागिरि नगरपालिकामा तेस्रो संस्करणको ‘चन्द्रागिरि अन्तरवडाकप फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिता चन्द्रागिरि–१४ नयाँ नैकापमा आगामी कात्तिक २८ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।
“खेलकुदमार्फत एकता, मित्रता र प्रतिभाको सम्मान” भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा चन्द्रागिरि नगरभित्रका वडाका फुटबल टोली सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले नगद २ लाख ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। उपविजेताले १ लाख १५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ।
यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र अनुशासित टोलीलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
चन्द्रागिरि अन्तरवडाकप फुटबल प्रतियोगिता समितिका अध्यक्ष नेशन महर्जनले प्रतियोगिताले नगरभित्रका खेलाडीको हौसला र मनोबल बढाउनुका साथै उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने बताए। नगरपालिकाले खेलकुद क्षेत्रमा विनियोजन गरेको बजेटको प्रभावकारी सदुपयोग गर्दै स्थानीय खेलाडी र खेलकुद गतिविधिलाई प्राथमिकता दिने उद्देश्यसमेत प्रतियोगिताले बोकेको उनको भनाइ छ।
स्थानीयस्तरमा फुटबल खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान र अवसर विस्तारसँगै युवालाई खेलकुदमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले वडाबीचको आपसी सम्बन्ध, सहकार्य र खेलभावना अभिवृद्धिमा समेत योगदान पुर्याउने आयोजकको अपेक्षा छ।
चन्द्रागिरि अन्तरवडाकप फुटबल प्रतियोगिता समितिको आयोजनामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी अघि बढाइएको छ। आयोजकले प्रतियोगितामा सहभागी हुन चन्द्रागिरि नगरभित्रका फुटबल टोली तथा खेलाडीलाई आह्वान गरेको छ।