काठमाडौं । चन्द्रागिरि र आसपासका क्षेत्रका गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुले अब विशेषज्ञ स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। थानकोटमा जर्मन सरकारको आर्थिक सहयोगमा २५ शय्याको मातृ तथा नवजात शिशु अस्पताल निर्माण हुने भएको छ।
चन्द्रागिरि नगरपालिका–४ थानकोटस्थित चन्द्रागिरि नगर अस्पताल परिसरमा आगामी मङ्सिर १४ गते सोमबार बिहान ९ः३० बजे अस्पताल भवनको शिलान्यास गरिने कार्यक्रम छ। नगरप्रमुख घनश्याम गिरी र नेपालका लागि जर्मनीका राजदूत उडो भोएल्जले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
नेपाल सरकार र जर्मन सरकारबीचको सम्झौताअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा जर्मन विकास बैंक (केएफडब्लू) मार्फत प्राप्त आर्थिक सहयोगमा अस्पताल निर्माण हुन लागेको हो।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह), थापाथलीको परियोजना अन्तर्गत निर्माण हुने यो अस्पताल सोही अस्पतालको स्याटेलाइट अस्पतालका रूपमा विकास गरिनेछ।
अस्पताल सञ्चालनमा आएपछि चन्द्रागिरि नगरपालिका र आसपासका क्षेत्रका गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुले स्थानीयस्तरमै विशेषज्ञ प्रसूति तथा नवजात शिशु स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
चन्द्रागिरिमा निर्माण हुने यस अस्पतालले मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै काठमाडौं उपत्यकाको स्वास्थ्य सेवा प्रणालीमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तस्बिर : एआई