विज्ञापन

'थानकोटमा राष्ट्रिय बाँसुरी प्रतियोगिताको तयारी, विजेताले पाउनेछन् एकैपटक एकलाख रुपैयाँ पुरस्कार'

काठमाडौं । बाँसुरीको धुनमा देशभरका सांगीतिक प्रतिभा थानकोटमा जमघट हुने भएका छन्।

विज्ञापन

नेवारी मौलिक कला, संस्कृति र सांगीतिक सम्पदाको संरक्षणसँगै आधुनिक बाँसुरी वादनलाई राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ थानकोटमा राष्ट्रिय खुला बाँसुरी प्रतियोगिता आयोजना हुने भएको छ।

विज्ञापन

झीगु नेवाः बाँसुरी खलः थानकोटको आयोजनामा तथा चन्द्रागिरि नगरपालिकाको सहयोगमा आगामी पुस ११ र १२ गते थानकोटस्थित कोतघरमा “थक्वाः खुल्ला बाँसुरी खलः धें धें बल्ला कासा–११४७”आयोजना हुन लागेको हो।

प्रतियोगितामा देशका विभिन्न स्थानमा क्रियाशील बाँसुरी बाजा खलः, दाफा भजन खलः तथा सांस्कृतिक संघसंस्थाहरूबीच सांगीतिक प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको सबैभन्दा आकर्षक पक्ष विजेताले प्राप्त गर्ने एक लाख रुपैयाँ नगद पुरस्कार रहेको छ। प्रथम हुने समूहले एक लाख रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुनेले ५० हजार, तृतीय हुनेले २५ हजार तथा चौथो र पाँचौँ हुने समूहले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

२०७७ सालमा थानकोटमा स्थापना भएको झीगु नेवाः बाँसुरी खलःले चन्द्रागिरिमा मात्र नभई राष्ट्रियस्तरमै आधुनिक बाँसुरी वाद्यवादनको विकास, विस्तार र संरक्षणमा अग्रणी योगदान दिँदै आएको छ।

राष्ट्रव्यापी उक्त प्रतियोगितालाई परम्परागत सांगीतिक विरासत र आधुनिक पुस्ताको प्रतिभाबीचको महत्वपूर्ण सांगीतिक संगमका रूपमा हेरिएको छ।

बाँसुरी वादनमा नयाँ प्रतिभाको खोजी, कलाकारबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण, अनुभव आदानप्रदान तथा मौलिक सांगीतिक संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य प्रतियोगिताले राखेको छ। यसले नेवारी सांगीतिक परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै नेपाली बाँसुरी वादनलाई राष्ट्रियस्तरमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले दुई हजार रुपैयाँ दर्ता शुल्कसहित मंसिर मसान्तभित्र नाम दर्ता गराउनुपर्नेछ। प्रतियोगिता दुवै दिन बिहान ९ बजेदेखि सुरु हुनेछ।

संस्थाका अध्यक्ष देवकृष्ण महर्जनले प्रतियोगितालाई भव्य र ऐतिहासिक बनाउन देशभरका बाँसुरी बाजा खलः, दाफा भजन खलः, सांस्कृतिक संघसंस्था, कलाकार तथा संगीतप्रेमीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

“पुर्खाको पहिचान, हाम्रो अभियान, कला र संस्कृतिबाट समृद्ध समाज निर्माण”भन्ने मूल भावनासहित अघि बढिरहेको संस्थाले आयोजना गर्न लागेको प्रतियोगिताले सिङ्गै चन्द्रागिरि क्षेत्रलाई दुई दिनसम्म बाँसुरीको मधुर धुन र सांगीतिक प्रतिस्पर्धाको केन्द्र बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

नेपाली साहित्यका तीन धुरन्धर कविका तीन कविता

चन्द्रागिरिको इँटाभट्टा विवाद: एउटा उद्योगको प्रश्नभन्दा माथि स्थानीय शासनको परीक्षा

चन्द्रागिरिका सामुदायिक विद्यालयमा डिजिटल परिचयपत्र वितरणमै ढिलाइ, शैक्षिक सत्र सकिन लाग्दा विद्यार्थी अन्योलमा

इनम सापकोटाको जीवनरक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

थानकोटमा बन्ने भयो २५ शय्याको अत्याधुनिक मातृ तथा नवजात शिशु अस्पताल, मङ्सिर १४ गते शिलान्यास

ब्राइट फ्युचर माध्यमिक विद्यालयको ४०औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम मंसिर १४ गते हुने

बूढानीकण्ठमा दोस्रो के.बी. खत्री स्मृति ब्याडमिन्टन प्रतियोगिता हुँदै, विजेतालाई ३० हजार पुरस्कार

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता चन्द्रागिरिवासीको विवरण संकलन गर्दै नगरपालिका, परिवारलाई पाँच दिनको समय