विज्ञापन

'चन्द्रागिरिका सामुदायिक विद्यालयमा डिजिटल परिचयपत्र वितरणमै ढिलाइ, शैक्षिक सत्र सकिन लाग्दा विद्यार्थी अन्योलमा'

शैक्षिक सत्र २०८३ देखि वितरण गर्ने भनिएको आईडीकार्ड मंसिर बित्न लाग्दासमेत कार्यान्वयनमा आएन, शिक्षा र सूचना शाखाबीच जिम्मेवारीको अन्योल

विज्ञापन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले शैक्षिक सत्र २०८३ देखि नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई डिजिटल परिचयपत्र (आईडीकार्ड) वितरण गर्ने योजना अघि सारे पनि शैक्षिक सत्रको सुरुवात भएको लामो समय बितिसक्दा समेत कार्यान्वयनमा आउन सकेको छैन।

विज्ञापन

मंसिर महिना बित्न लाग्दासमेत विद्यार्थीको हातमा परिचयपत्र नपुगेपछि नगरपालिकाको योजना कार्यान्वयन र प्रशासनिक जवाफदेहितामाथि प्रश्न उठ्न थालेको छ।

नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई एकीकृत डिजिटल परिचयपत्र उपलब्ध गराउने र त्यसका लागि आवश्यक प्रणाली आफैँ विकास गर्ने योजना अघि सारेको थियो। विद्यालयहरूले आफ्नै तर्फबाट परिचयपत्र तयार गर्न सक्ने अवस्था भए पनि नगरपालिकाले एकीकृत प्रणालीमार्फत परिचयपत्र वितरण गर्ने प्रतिबद्धता जनाएको थियो। तर, शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा न प्रणाली सञ्चालनमा आएको छ, न विद्यार्थीले परिचयपत्र पाएका छन्।

यस विषयमा नगरपालिकाको शिक्षा र सूचना शाखामा बुझ्दा स्पष्ट र एउटै जवाफ पाउन नसकिएको विद्यालय क्षेत्र तथा अभिभावकको गुनासो छ। शिक्षा शाखामा सम्पर्क गर्दा सूचना शाखासँग सम्बन्धित विषय भन्दै पन्छिने र सूचना शाखामा बुझ्दा काम भइरहेको जवाफ आउने गरेको छ। पटकपटक काम हुँदै गरेको जवाफ प्राप्त भए पनि कार्यक्रम कार्यान्वयनको निश्चित समयसीमा सार्वजनिक हुन सकेको छैन।

डिजिटल परिचयपत्र वितरणमा भएको ढिलाइले विद्यार्थीको पहिचानसँगै सार्वजनिक सेवामा प्राप्त हुने सहुलियतमा समेत असर परिरहेको छ। विद्यार्थी परिचयपत्रका आधारमा सार्वजनिक यातायात तथा अन्य सेवामा उपलब्ध हुने विद्यार्थी सहुलियत लिन परिचयपत्र आवश्यक पर्ने अवस्थामा विद्यार्थी प्रभावित भईरहेका छन् त्यस्तै, विद्यालयमा विद्यार्थीको उपस्थिति अभिलेख, प्रवेश तथा बहिर्गमनको समय व्यवस्थापनलाई प्रविधिसँग जोड्ने अपेक्षा राखेका अभिभावकसमेत निरास हुन थालेका छन् ।

चन्द्रागिरि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा करिब ११ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । यति ठूलो संख्याका विद्यार्थीलाई लक्षित गरेर अघि सारिएको कार्यक्रम समयमै कार्यान्वयन नहुनु सामान्य प्रशासनिक ढिलाइको विषय मात्रै होइन। विद्यार्थीको पहिचान, विद्यालयको अभिलेख व्यवस्थापन र अभिभावकलाई उपलब्ध गराउन सकिने डिजिटल सेवासँग समेत यो विषय प्रत्यक्ष जोडिएको छ।

डिजिटल परिचयपत्रलाई विद्यालयको हाजिरी प्रणाली तथा विद्यार्थीको प्रवेश र बहिर्गमन अभिलेखसँग एकीकृत गर्न सके अभिभावकले आफ्ना बालबालिकाको विद्यालय उपस्थितिबारे जानकारी पाउने व्यवस्था विकास हुन्थ्यो । यद्यपि यो नगरको ढिलासुस्तीका कारण सम्भव भईरहेको छैन ।

यस विषयमा शोणितपुर खबरले चन्द्रागिरि नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वरिष्ठ शाखा अधिकृत बुद्धिप्रसाद भट्टसँग जानकारी लिन खोज्दा उहाँले यो शिक्षा शाखासँग सम्बन्धित विषय नभई सूचना शाखासँग सम्बन्धित रहेको जवाफ दिए। सूचना शाखामा बुझ्दा भने विद्यालयहरूबाट आवश्यक विद्यार्थी विवरण संकलन गरी परिचयपत्र छाप्न पठाइसकिएको र अब छिट्टै वितरण हुने बताए ।

विद्यालयबाट विद्यार्थीको विवरणसमेत संकलन भइसकेको अवस्थामा परिचयपत्र वितरणमा भइरहेको ढिलाइको वास्तविक कारण के हो? प्रणाली विकासको जिम्मेवारी लिएको शाखाले काम कहाँसम्म पुर्‍याएको छ? वितरणको निश्चित समयसीमा किन सार्वजनिक गर्न सकिएको छैन? यी प्रश्नको स्पष्ट जवाफ नगरपालिकाले दिन आवश्यक छ।

अझ महत्वपूर्ण कुरा, शैक्षिक सत्र २०८३ को सुरुवातमै विद्यार्थीको हातमा पुग्नुपर्ने परिचयपत्र शैक्षिक वर्षको अन्त्यतिर मात्रै वितरण गरिए त्यसको तत्कालीन उपयोगिता कति रहला भन्ने प्रश्न पनि उठ्न थालेको छ।

विद्यार्थीको शैक्षिक पहिचान, सहुलियत र विद्यालय व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले अघि सारिएको कार्यक्रम समयमै कार्यान्वयन नहुँदा त्यसको अपेक्षित लाभबाट विद्यार्थी वञ्चित भएका छन्।

विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमलाई शाखागत जिम्मेवारीको विषय बनाएर एकअर्कालाई देखाउनुभन्दा सम्बन्धित निकायबीच समन्वय गरी कार्यान्वयनमा ल्याउनु नगरपालिकाको दायित्व हो।

योजना घोषणा गर्ने तर कार्यान्वयनको समयसीमा र प्रगति सार्वजनिक नगर्ने प्रवृत्तिले स्थानीय सरकारको सेवा प्रवाह र जवाफदेहितामाथि प्रश्न उठाएको छ ।

आखिर शैक्षिक सत्र सुरु हुनुअघि नै वितरण गर्ने भनिएको डिजिटल परिचयपत्रका लागि विद्यार्थीले अझै कति समय कुर्नुपर्ने हो? नगरपालिकाले योजना बनाउने मात्र होइन, त्यसको समयमै कार्यान्वयन र जवाफदेहितासमेत सुनिश्चित गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

नेपाली साहित्यका तीन धुरन्धर कविका तीन कविता

चन्द्रागिरिको इँटाभट्टा विवाद: एउटा उद्योगको प्रश्नभन्दा माथि स्थानीय शासनको परीक्षा

इनम सापकोटाको जीवनरक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

थानकोटमा राष्ट्रिय बाँसुरी प्रतियोगिताको तयारी, विजेताले पाउनेछन् एकैपटक एकलाख रुपैयाँ पुरस्कार

थानकोटमा बन्ने भयो २५ शय्याको अत्याधुनिक मातृ तथा नवजात शिशु अस्पताल, मङ्सिर १४ गते शिलान्यास

ब्राइट फ्युचर माध्यमिक विद्यालयको ४०औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम मंसिर १४ गते हुने

बूढानीकण्ठमा दोस्रो के.बी. खत्री स्मृति ब्याडमिन्टन प्रतियोगिता हुँदै, विजेतालाई ३० हजार पुरस्कार

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता चन्द्रागिरिवासीको विवरण संकलन गर्दै नगरपालिका, परिवारलाई पाँच दिनको समय