विज्ञापन

'चन्द्रागिरि नगरपालिका वडा नं १० को संक्षिप्त परिचय'

काठमाडाैं । चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भागमा अवस्थित क्षेत्रफलका हिसाबले काठमाडौंको सबैभन्दा ठूलो नगरपालिका हो ।

विज्ञापन

काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, बाडभञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर चन्द्रागिरि नगरपालिका नगरपालिका बनेको हो ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्य र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण छ । नेपालको प्राचीन इतिहासदेखि नै महत्वपूर्ण क्षेत्रका रुपमा रहेको यो क्षेत्र गोपाल वंशमा नेपालको राजधानी थियो भने लिच्छवी कालमा शिताटी द्रङ्गका रुपमा चिनिन्थ्यो । शोणीतपुर, भास्तीपुर, चित्रापुर, सत्यपुर जस्ता पौराणिककालका सभ्यतासँग जोडिने नामले पनि चन्द्रागिरिको सांस्कृतिक, पुरातात्त्विक तथा ऐतिहासिक महत्वलाई उजागर गर्छ ।

यसै नगरपालिकाको लगभग बीच भागमा पर्ने वडा हो चन्द्रागिरि नगरपालिकाको वडा नं १० । साविकको सतुङ्गल गाविसका वडा नं १ देखि ७ सम्मका वडाहरू मिलाएर चन्द्रागिरि नगरपालिका वडा नं १० बनाइएको हो ।

हालका वडा नं १० का जनप्रतिनिधिहरूमा वडा अध्यक्षमा शिवकुमार महर्जन रहेका छन् भने सदस्यहरूमा भेषनाथ उपाध्याय, सिता महर्जन, मनोज कुमार महर्जन, तथा दलित महिला सदस्यमा कमला मिजार रहेका छन् ।

वडा नं १० का प्रमुख बस्तीहरूका दृश्यहरू चन्द्रागिरि नगरपालिकाको वडा नं १० सतुंगल क्षेत्र, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सामाजिक विकासको नमूना हो । यस वडामा सतुंगल, बोसी गाउँ, सिम्चा, बखु फाँट, तिसन्डोल, जरुचा र चपार जस्ता प्रमुख बस्तीहरू अवस्थित छन् ।

यस वडाको जनसंख्या र सामाजिक स्थिति अनुसार यस वडाभित्र १३ सय घर धुरीमा पुरुष ५,३८८ र महिला ५,२५२ गरी करिब १० हजार ६ सय ४० जनसंख्याको बसोबास रहेको पाइन्छ ।

पूर्वाधार र बाटोको अवस्थालाई हेर्ने हो भने सतुंगलदेखि मत्स्यनारायण जाने सडक र सिप्रदी बोसिगाउँ मत्स्यनारायण सडक यस वडाका मुल सडकहरू हुन् ।
वडा अध्यक्ष शिवकुमार महर्जनका अनुसार वडाका अधिकांश शाखा बाटो ढलान भइसकेका छन् भने थोरै ठाउँमा सुधार बाँकी रहेको छ । सतुंगल र बोसी गाउँमा रहेका पुराना धार्मिक तथा ऐतिहासिक स्थलहरू कलात्मक शैलीमा पुनर्निर्माण भएका छन्, जसले सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएका छन् ।

पेशा व्यवसायका दृष्टिले विगतमा कृषि पेशामा आश्रीत बासिन्दाहरू हाल घरेलु उद्योग, बन्द व्यापार र अन्य पेशामा समेत संलग्न रहेका छन् । त्यसैगरि वडा कार्यालयले रोजगारी सिर्जना गर्ने उद्देश्यले कुटीर उद्योगलाई प्रोत्साहन दिने योजना बनाएको छ । साथै, यस वडाका जागरूक महिलाहरूलाई आय आर्जनको लागि अन्य कार्यक्रमहरू साबुन, सरफ, अगरबत्ती, गुडीया, ढाकाबाट बुनेका सरसामानहरू, सिलाई बनाई जिम्बु, पशुपालन तथा तरकारी उत्पादन, व्यूटिसियन तालिम, कागती खेती जस्ता उद्योग संचालनमा रहेका छन । त्यस्तै, व्यवसाय तथा उद्योगहरूलाई मान्यता दिई अन्य महिला तथा पुरुषहरूलाई समेत रोजगारीमूलक तालिम दिने जस्ता कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ ।

वडा नं १० मा शैक्षिक संस्थाको रूपमा एउटा मात्रै श्री भैरव मा.वि सामूदायिक माध्यमिक विद्यालय रहेको छ । वि.सं २०२४ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको यो विद्यालयमा हाल माध्यमिक तह सम्मको कक्षा संचालनमा रहेको छ । त्यस्तै, संस्थागत विद्यालयतर्फ जेसिज मा.वि, हाई न्यू भिजन मा.वि.र पथिक ज्ञान निकेतनका साथै उच्च शिक्षामा यस वडामा रहेको काठमाडौं शिक्षा बहुमुखी सामुदायिक क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरी QAA प्राप्त गरेको छ ।

स्वास्थ्य सेवाको क्षेत्रमा सतुंगल स्वास्थ्य चौकीलाई थप स्तरिय र व्यवस्थित बनाउन पहल भईरहेको छ भने बोसीगाउँमा शहरी स्वास्थ्य केन्द्र रहेको छ । जसले स्थानीय बासिन्दालाई दैनिक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

सांस्कृतिक सम्पदाका दृष्टिले प्राचीनकालदेखि नै सतुङ्गलमा मानव बस्ती रहेको कुरा यहाँ भेटिएका शिलालेखहरुले पुष्टि गर्छन् । सतुङ्गलको देउननीमा भेटिएको राजा भौमगुप्तको समयको वि.स ६१८ को शिलालेख र राजा अंशुवर्माको समयका वि.सं ६५४ को शिलालेख यसको प्रमाण हुन् ।

त्यस्तै, सतुङगल लाछीमा रहेको बुद्ध मन्दिर प्राचीन बुद्ध मन्दिरहरू मध्येको एक हो । बुद्धको मन्दिर वरपर स्थापना भएका नाट्येश्वर महादेव, उमा महेश्वर, भीमसेन मन्दिर, श्रीकृष्ण मन्दिर, गणेश मन्दिर, नारायण मन्दिर जस्ता मन्दिरले धार्मिक सहिष्णुता दर्शाउँछन् । यहाँका कलात्मक मन्दिर र फल्चाहरू साँस्कृतिक सम्पदाका ज्युँदा प्रमाण हुन् ।
सतुंगल महाभारत कालिन भिमसेन जात्रा यहाँको अर्को विशिष्ट सांस्कृतिक सम्पदा हो ।

बोसिगाउँमा रहेको बुद्ध मन्दिर र महादेव मन्दिर पनि वडा नम्बर १० का प्रमुख मन्दिरहरू मध्ये पर्दछन् ।

महर्जनहरूको बाक्लो बसोबास रहेको बोसीगाउँ धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण छ । लुँह गाउँबाट आएका १६ जना बोसीहरूले यहाँ बसोबास गरि गाउँको नामकरण भएको स्थानीय मान्यता छ । यहाँ बखु मद, लाखे नाच र गाईजात्रा जस्ता परम्परागत जात्रा पर्वहरू मनाउने चलन छ ।

यस वडामा रहेको ऐतिहासिक तथा धार्मिक विष्णुदेवी मन्दिर पौराणिक महत्वको मन्दिर हो । यहाँ रहेको अष्ठमातृका विष्णुदेवीका मूर्तीहरूको मिथक पौराणिक समयसँग जोडिएका छन् ।

विष्णुदेवी नजिकै रहेको माँ विन्दवासिनी मन्दिर वडा नं १० को धार्मिक हबका रूपमा आगामी दिनमा विकास हुनेगरि निर्माण भइरहेको छ । सात तले विन्दवासिनी मन्दिर २८ करोड रुपैयाँको गुरुयोजनासहित निर्माणाधीन छ । विन्दवासिनी आध्यात्मिक संघले २८ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिरसँगै अन्य संरचनाहरू निर्माण गरि धार्मिक र पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखेको छ ।

वडा नं १० खेलकुदमा पनि अगाडि छ । यहाँका राष्ट्रिय बक्सिङ खेलाडी दीपक महर्जनले वडाको पहिचान बढाएका छन् भने कराँते खेलका रत्न महर्जन पनि राष्ट्रिय पहिचान बनाएका खेलाडी हुन् । बक्सिङ, तेक्वान्दो, फुटबल, फुटसल, व्याडमिन्टन लगायत खेलहरूलाई पनि वडाले प्रवर्द्धन गर्ने गरेको छ ।

त्यस्तै, महिला तथा बालबालिकाहरूको हितमा कार्य गर्नेगरि यस वडामा प्रगतिशील महिला समुह, पलिस्वाँ मिसा पुच:, एकल महिला समूह, उन्नति महिला समूह जस्ता संस्थाहरूले आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको पाइन्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरि नगरपालिकाद्वारा संस्थागत विद्यालय छात्रवृत्तिका लागि फारम भर्न आव्हान

नागढुंगा सुरुङमार्गकाे भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा, साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी

आफ्नो घर तथा कार्यालयमा छापा मारेपछि के भन्छन् मुख्यमन्त्री बानियाँ ?

घुस लिएको आरोपमा एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?