काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले संस्थागत विद्यालयतर्फको छात्रवृत्तिका लागि फारम वितरण सम्बन्धि कार्यका सहजीकरण गर्न सम्पूर्ण वडा कार्यालय तथा संस्थागत विद्यालयलाई अनुरोध गरेको छ ।
शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ (ञ) तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५१ र चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०७९ को परिच्छेद-४ दफा ७ को उपदफा (३) बमोजिम संस्थागत विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको तोकिएको प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम जेहेन्दार, विपन्न गरीब, महिला, अपाङ्गता भएका व्यक्ति (अपाङ्गता भएका व्यक्तिका छोरा/छोरी), दलित, आदिवासी, जनजाती, मधेशी, अल्पसंख्यकलाई नि:शुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था भए बमोजिम नगरपालिकाको छात्रवृत्ति बैंकबाट वितरण हुने छात्रवृत्ति कोटामा गतवर्ष नगरपालिकाबाट छात्रवृत्ति प्राप्त गरी अध्ययन गर्ने विद्यार्थीहरू र नयाँ समावेश हुन ईच्छुक विद्यार्थीहरूलाई आवश्यक कागजातसहित फारम भर्न आव्हान गरिएको हो ।
शिक्षा, युवा तथा खेलकुद शाखाले २०८३ जेठ ४ गतेसम्म शाखाबाट आवेदन फाराम सिफारिश गराई अध्ययनरत विद्यालयमा पेश गर्न नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समिति चन्द्रागिरिको निर्णयानुसार छात्रवृत्ति सम्बन्धि फारमका भर्नका लागि अनुरोध गरेको हो ।
निःशुल्क छात्रवृत्तिमा छनौट हुने विद्यार्थीको विवरण नगरपालिकाको वेवसाइटबाट समेत सार्वजनिक गरिनेछ भने छात्रवृत्ति आवेदन फाराम चन्द्रागिरि नगरपालिकाको वेबसाइट (www.chandragirimun.gov.np) बाट डाउनलोड गरी प्रिन्ट गर्न, साथै सम्बन्धित विद्यालय, वडा कार्यालय र नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाबाट समेत निःशुल्क उपलब्ध हुने जनाएको छ ।