काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन्। उनी बिहीबार (कात्तिक २६ गते) बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा पाउँदै रिहा भएका हुन्।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार काठमाडौं जिल्ला अदालतले कात्तिक १३ गते रायमाझीलाई कैद छुटको सुविधा प्रदान गर्ने निर्णय गरेको थियो। अदालतले कारागार कार्यालयलाई संशोधित कैदीपुर्जी पठाएपछि उनी रिहा भएका हुन्।
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको अभियोगमा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। उक्त प्रकरणमा काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
रायमाझीले करिब साढे तीन वर्ष कारागारमा बिताएपछि ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त भएका हुन्। कैद छुट पाए पनि अदालतले तोकेको जरिवाना भने कायम रहनेछ।