काठमाडौं । बेलायती उपन्यासकार तथा साहित्यिक समीक्षक एम. जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार प्राप्त गरेका छन्।
ह्यारिसनको उपन्यास The End of Everything का लागि उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको ५७ वर्षे इतिहासमा सबैभन्दा बढी उमेरमा पुरस्कार जित्ने लेखक बनेका छन्।
बुकर पुरस्कार फाउन्डेसनले नोभेम्बर ९ मा लन्डनस्थित ओल्ड बिलिङ्सगेटमा आयोजित समारोहमा ह्यारिसनलाई विजेता घोषणा गरेको हो। उनले पुरस्कारसँगै ५० हजार पाउन्ड नगद र ट्रफी प्राप्त गरेका छन्।
यस वर्ष पुरस्कारका लागि अंग्रेजी भाषामा प्रकाशित १६३ ओटा कृति मूल्याङ्कन गरिएको थियो। अन्तिम सूचीमा परेका छ ६ ओटा उपन्यासमध्ये ह्यारिसनको कृति निर्णायक समितिबाट सर्वसम्मत रूपमा छनोट भएको हो।
विजेता उपन्यास The End of Everything विज्ञान–आख्यान विधामा आधारित विनाशोत्तर समाजको कथा हो। यसमा एउटा रहस्यमय विपत्तिपछि सामाजिक व्यवस्था कमजोर बनेको, सरकारी संरचनाले प्रभावकारी रूपमा काम गर्न नसकेको र मानव जीवन अनिश्चितताबीच अघि बढिरहेको भविष्यको संसार चित्रण गरिएको छ।
उपन्यासका मुख्य पात्र फिलिप टेनेन्ट समुद्री किनारमा बगेर आएका वस्तु संकलन गरेर जीविकोपार्जन गर्छन्। समुद्रबाट प्राप्त हुने वस्तुहरूबीच उनले एउटा रहस्यमय जीव भेट्छन्, जसले निरन्तर आफ्नो स्वरूप परिवर्तन गर्छ। त्यसलाई लिएर भित्री भूभागतर्फ जानुपर्ने परिस्थितिले कथालाई अगाडि बढाउँछ। उपन्यासमा मानव सभ्यताको विघटन, सामाजिक मान्यताको परिवर्तन र मानिसले आफ्नो वरिपरिको संसार बुझ्न नसक्ने अवस्थालाई व्यङ्ग्यात्मक तथा रहस्यपूर्ण शैलीमा प्रस्तुत गरिएको छ।
यस कृतिको प्रमुख विशेषता परम्परागत उपन्यास संरचनालाई चुनौती दिने कथाविन्यास हो। छोटा तथा दृश्यात्मक अध्याय, अस्पष्ट परिवेश, शुष्क हास्य र व्यङ्ग्यात्मक प्रस्तुतिमार्फत लेखकले पाठकलाई कथाको अर्थ आफैँ खोज्न प्रेरित गरेका छन्। विज्ञान, कल्पना र सामाजिक यथार्थलाई संयोजन गर्दै उनले मानव ज्ञान र बुझाइको सीमामाथि प्रश्न उठाएका छन्।
बुकर पुरस्कार निर्णायक समितिकी अध्यक्ष मेरी बियर्डले यस उपन्यासलाई भविष्यको दृष्टिकोणबाट वर्तमान राजनीतिक तथा सामाजिक अवस्थालाई हेर्ने कृतिका रूपमा व्याख्या गरेकी छन्। उनले विपत्तिपछिको संसारमा पुराना नियम र मान्यताले काम नगर्ने अवस्थालाई उपन्यासले प्रभावकारी रूपमा प्रस्तुत गरेको बताएकी छन्। बियर्डका अनुसार कृतिले पाठकलाई स्थापित सोचबाट बाहिर निकाल्दै गम्भीर विषयवस्तुबीच व्यङ्ग्य र आशाको झिल्कोसमेत प्रस्तुत गर्छ।
सन् १९४५ मा जन्मिएका ह्यारिसन करिब छ दशकदेखि साहित्य लेखनमा सक्रिय छन्। उनले सन् १९६५ मा पहिलो कथा प्रकाशन गरेका थिए। सन् १९६९ मा बेलायतको विज्ञान तथा काल्पनिक साहित्यसम्बन्धी पत्रिका ‘न्यु वर्ल्ड्स’ सँग आबद्ध भएका उनले सन् १९७८ सम्म त्यहाँ पुस्तकसम्बन्धी सम्पादकीय काम गरेका थिए। उनका साहित्यिक कृतिमा विज्ञान–आख्यान, उपन्यास र लघुकथाको विशेष स्थान छ।
ह्यारिसनका चर्चित कृतिहरूमा Viriconium, Climbers, The Course of the Heart, Signs of Life, Light, Nova Swing र The Sunken Land Begins to Rise Again रहेका छन्। उनको उपन्यास Climbers ले सन् १९८९ मा बोर्डम्यान टास्कर पुरस्कार, Nova Swing ले सन् २००७ मा आर्थर सी क्लार्क पुरस्कार र The Sunken Land Begins to Rise Again ले सन् २०२० मा गोल्डस्मिथ्स पुरस्कार प्राप्त गरेका थिए। उनले १३ वटा उपन्यास, पाँचवटा लघुकथा सङ्ग्रह तथा आत्मसंस्मरणको परम्परागत शैलीभन्दा फरक ‘एन्टी–मेमोयर’ समेत प्रकाशन गरेका छन्।
ह्यारिसनको यो उपलब्धि विज्ञान–आख्यान विधाका लागि पनि ऐतिहासिक मानिएको छ। बुकर पुरस्कार फाउन्डेसनका प्रमुख कार्यकारी ग्याबी वुडका अनुसार विज्ञान–आख्यानको स्थापित क्षेत्रमा रहेर लेखन गर्दै आएका लेखकले पहिलोपटक बुकर पुरस्कार जितेका हुन्। यसअघि विज्ञान–आख्यानका तत्व समेटिएका कृतिले पुरस्कार प्राप्त गरे पनि यस विधामै स्थापित लेखकका रूपमा ह्यारिसनको जितलाई विशेष उपलब्धिका रूपमा हेरिएको छ।
यससँगै उनको उपन्यास प्रकाशन गर्ने स्वतन्त्र प्रकाशन संस्था सर्पेन्ट्स टेलले पनि पहिलोपटक बुकर पुरस्कार जितेको छ। प्रोफाइल बुक्सअन्तर्गतको यस प्रकाशन संस्थाले यसअघि पाँचपटक बुकर पुरस्कारको मनोनयनमा स्थान बनाएको थियो।
सन् १९६९ देखि प्रदान हुँदै आएको बुकर पुरस्कार अंग्रेजी भाषामा प्रकाशित उत्कृष्ट पूर्णकालीन आख्यानात्मक कृतिलाई प्रदान गरिने विश्वकै प्रतिष्ठित साहित्यिक पुरस्कारमध्ये एक हो। यस पुरस्कारले विश्व साहित्यमा लेखक र उनीहरूका कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउँदै आएको छ।