विज्ञापन

'चन्द्रागिरिमा मरेका १५२ कुखुरा बोकेको भ्यान नियन्त्रणमा, किनबेचले उठायो जनस्वास्थ्यमा गम्भीर प्रश्न'

चन्द्रागिरिमा प्रतिगोटा ३० देखि ५० रुपैयाँमा मरेका कुखुरा खरिद गरी ओसारपसार गर्ने गरेको खुलासा, कुकुर र बंगुरको आहार बनाउने गरिएको चालकको भनाइ

विज्ञापन

काठमाडौं । मरेका कुखुराको सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा उल्टै किनबेच र ओसारपसार हुने गरेको घटना सार्वजनिक भएपछि चन्द्रागिरिमा पशु स्वास्थ्य, वातावरणीय सरसफाइ र जनस्वास्थ्यको विषयले गम्भीर प्रश्न उठाएको छ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका–८ स्थित साउनेपानी–ढाक्सी भित्री सडकखण्डमा बिहीबार बिहान स्थानीयवासीले मरेका कुखुरा बोकेको भ्यान नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। बा ४ च ३९३८ नम्बरको मारुती भ्यानमा आधा दर्जनभन्दा बढी बोरामा राखिएका १५२ वटा मरेका बोइलर कुखुरा फेला परेका थिए।

शंकास्पद रूपमा कुखुरा ओसारपसार भइरहेको देखेपछि स्थानीयले सवारीसाधन नियन्त्रणमा लिएका थिए। घटनामा संलग्न चालकले मरेका कुखुरा प्रतिगोटा ३० देखि ५० रुपैयाँसम्ममा खरिद गर्ने गरेको बताएको छ। ती कुखुरा कुकुर पाल्ने केन्द्र तथा बंगुरका लागि आहारका रूपमा लैजाने गरिएको चालकको भनाइ रहेको छ।

सामान्यतया रोग, संक्रमण वा अन्य कारणले मरेका कुखुराको पहिचान गरी सुरक्षित र वैज्ञानिक विधिबाट व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर, मरेका कुखुरालाई यसरी संकलन गरी किनबेच तथा ओसारपसार गर्ने अभ्यासले रोग फैलिने सम्भावना, पशु स्वास्थ्य र वातावरणीय सुरक्षासम्बन्धी जोखिम बढाउन सक्ने पशु स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डले औँल्याएका छन्।

विश्व पशु स्वास्थ्य संगठन (WOAH) का अनुसार रोगका कारण मरेका पशुपक्षीको असुरक्षित ओसारपसार तथा व्यवस्थापनले रोगजन्य जीवाणु फैलिने जोखिम निम्त्याउन सक्छ। त्यसैले मृत पशुपक्षीको व्यवस्थापन गर्दा रोगको प्रकृति, जैविक सुरक्षा र वातावरणीय अवस्थालाई ध्यान दिनुपर्ने हुन्छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) ले पनि पशुपक्षीमा रोग फैलिन नदिन मृत शरीर तथा दूषित सामग्रीको सुरक्षित व्यवस्थापनलाई महत्वपूर्ण मानेको छ।

नेपालको पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ मा समेत रोग फैलिन नदिने गरी मृत पशुको व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ। नियमावलीको नियम १८ ले आवश्यकताअनुसार जलाउने, खाडल खनी कम्तीमा तीन फिट पुरिने गरी गाड्ने वा विभागले निर्धारण गरेको विधिअनुसार नष्ट गर्ने व्यवस्था गरेको छ। रोगको कारण पहिचान गर्न आवश्यक परे नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्नुपर्ने प्रावधानसमेत छ।

यस घटनाले चन्द्रागिरिका पोल्ट्री फार्ममा मर्ने कुखुराको अभिलेख राख्ने गरिएको छ वा छैन, मृत्युको कारण पहिचान गर्ने र सुरक्षित व्यवस्थापन गर्ने व्यवस्था कति प्रभावकारी छ भन्ने प्रश्नसमेत उठाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

नेपाल संवत् ११४७ को भिन्तुना उत्सवले नागार्जुनमा जगायो सांस्कृतिक जागरण, मौलिक पहिचान संरक्षणमा जोड

८१ वर्षीय बेलायती लेखक एम. जोन ह्यारिसनलाई २०२६ को बुकर पुरस्कार

चिसापानी गढीमा ईभी माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु, पाँच जना घाइते

चन्द्रागिरिमा प्रथम नगरस्तरीय बृहत् भजन सम्मेलन हुँदै, कार्तिक २८ गते थानकोटमा आयोजना गरिने

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी जेलमुक्त

चन्द्रागिरिमा सामाजिक सञ्जालमार्फत ठगीको प्रयास : ब्राइट फ्युचर स्कुलका अध्यक्ष मोहन कार्कीको नाम र तस्बिर दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्टबाट रकम माग

काठमाडौं उपत्यकामा असिनासहित वर्षा, चिसो बढ्यो

मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा चन्द्रागिरिमा नेपाल संवत् ११४७ भव्य रूपमा सम्पन्न