काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक विद्युतीय (ईभी) माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाका बेला गाडीमा चालकसहित १५ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको हो ।
सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्। मृतकमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन्। घाइते पाँच जनामा तीन पुरुष र दुई बालक छन्।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको छ। दुर्घटनापछि सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो। नेपाली सेना र नेपाल प्रहरीको टोलीसमेत घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो।
दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मृतकहरूको विस्तृत पहिचान तथा दुर्घटनासम्बन्धी थप आधिकारिक विवरण आउन बाँकी छ।