विज्ञापन
No data was found

'अब यसो गरौंः पहिलो कामः कमसेकम किसानलाई किसानसँग जोडौं'

पशुपालनमा मलको व्यवस्थापन र कृषिमा मलको सहज उपलब्धता दुई वर्तमान समयमा दुर्भाग्यवश नेपालको कृषि क्षेत्रले भोगिरहेको तर भोग्नै नपर्ने र भोग्नै नहुने समस्या हो । हाम्रो कृषि नीतिले पशुपालन र कृषिलाई भिन्नाभिन्नै दृष्टिकोण सहितको आँखाले हेर्दा समस्या गम्भिर भएको देखिन्छ । राजनैतिक भागवण्डाकै निमित्त कृषि र पशुपन्छी मन्त्रालय समेत भिन्नाभिन्नै बनाएको अनुभव बोकेको देशमा कृषिको विकास भएन भन्दा अचम्म मान्नु पर्ने कुनै कुरा छैन । अझै पनि कृषिको विभाग, कार्यालय, शाखा र पशुको विभाग, कार्यालय, शाखा अलग अलग छन् । कर्मचारी भर्ती केन्द्र जस्तै भएका छन् कृषि तथा पशुपन्छी कार्यालयहरु । कर्मचारी तथा प्राविधिक सबै कार्यालयमा बसेर के कुनै देशको कृषि विकास भएको होला र ? गम्भीर चिन्तन गरौं । मान्नुहोस् कृषि र पशुपन्छीको कार्य गर्न साझा कार्यालय अन्तर्गत एक अर्कासँग सम्वन्यनात्मक भूमिका सहितका शाखाहरु, केहि कर्मचारी बाहेक दुवै शाखाका प्राविधिकहरुको स्थलगत कार्य सम्पादन, एकिकृत परामर्श तथा सेवा, एउटै उद्देश्यः कृषिको विकास र कृषिमा देशको आत्मनिर्भरता । कल्पना गर्नुभयोः आहा कति राम्रो, कति सुन्दर र कति सम्पन्न, कति अग्रगामी हाम्रो देश, जुन देशका नागरिक सुखि र जुन देश समृद्ध पनि । यस्तै यस्तै कल्पना आउँछ । तर वास्तविकता यस्तो छैन भन्ने कुरा सबैलाई थाहा छ । एकैपटक सबै गर्न सम्भव छैन तर धेरै गर्न सम्भव छ । एउटा काम गरौंः अलग अलग कार्यालय, काम जोड्न नसकेपनि पशुको पालन गर्ने किसानलाई बालीनाली उपार्जन गर्ने किसानसँग एकपटक जोडौं । सम्भव छ । साझा मुद्दा पनि छः मल ।

विज्ञापन

नेपालमा व्यावसायिक पशुपालक किसान र व्यावसायिक कृषि कर्म गर्ने मझौला आकारको किसानको उपस्थिति बाक्लो छ । उनिहरुको योगदान उच्च पनि छ । तर दुवै किसान सन्तुष्ट छैनन् किनभने उनिहरुको खर्चको बजेट दिनदिनहुँ बढ्दो छ, आम्दानीको कुनै भर छैन, वैकल्पिक आम्दानीको श्रोत देखिदैँन, खर्च घटाउने उपाय छैन र तीन तहको सरकार हुँदा पनि सरकार भएको आभाष छैन । अब भने कसैको पनि आलोचना नगरि समाधानका उपाय के हुन सक्छन्, त्यसको बारेमा थोरै छलफल गरौं । धेरै कुराहरु समाधानका लागि सहायक हुन सक्छन् तर विषय केन्द्रित आधारभूत कुरामा मात्र विश्लेषण गरौं ।

विज्ञापन

व्यावसायिक पशुपालन गरिरहेका पशुपालक किसानहरु दूधमा निर्भर छन्, जुन बजारमा सस्तोमा बिक्री गर्नु परेको छ तरपनि विडम्वना दूधको भुक्तानी न सरकार दिन्छ, न नीजि डेरि नै । पशुपालक किसानको लागि आम्दानीको वैकल्पिक श्रोत बनाउन सरकारले केहि न केहि पहल भने अवश्य पनि गर्नु पर्छ । धेरै अन्य बाटोपनि हुन सक्छ तथापि यहाँ गोवर तथा गौंधमा आधारित आधुनिक जैविक मलको विषय समाविष्ट छ । प्रत्येक पशुपालक किसान जसको गोठमा उत्पादन हुने गोवर तथा गौंध खेर गईरहेको छ, आम्दानीको श्रोत बन्न सकेको छैन तिनको प्रत्येक गोठहरुमा आधुनिक गोवरग्यास सरकारको अनुदान सहयोगमा स्थापना गरौं (सिस्टेमा भन्ने आधुनिक प्रविधियुक्त र सहज जडान र बहुपयोगी गोवरग्यास प्लान्ट पनि विकल्पमा रहेको छ ।) । उत्पादित गोवरग्यास सम्भव भएसम्म गोठमै प्रयोग गरौं । यदि अधिक हुने रहेछ भने स्थानीय समुदायमा नजिक रहेका घरहरुमा निश्चित मूल्य सहित जडान गरि बिक्री वितरण गरौं । यसका बहुआयामिक फाईदाहरु छन्ः कल्पना मात्र गरेपनि पर्याप्त छ । अब गोवरग्यासबाट निस्कने स्लरिको छोटोमा विचार गरौं । गोवरग्यासबाट निस्कने स्लरि जुन Ready to Use तयारी तथा अत्यन्तै गुणस्तरिय मल हो । जैविक खेति जसको बहुआयामिक गुण, प्रभावकारिता, महत्व रहेको छ सो को लागि अकाट्य, अत्यावश्यक र अनिवार्य पक्ष हुनुका साथै दिगो कृषिको लागि वरदान पनि हुन सक्छ । गोवरग्यासबाट प्राप्त हुने स्लरिको संकलन गरौं र निश्चित परिमाण(एक ट्याकंर) पुगेपछि मोटरको सहायताले ट्याकंरको प्रूयोग गरि पशु फार्मबाट कृषि फार्ममा स्थानान्तरण गरौं । स्लरिको मौज्दात गर्नको लागि कृषि फार्महरुमा सरकार(अनिवार्य स्थानीय सरकार)को सहयोगमा प्लाष्टिक पोखरी निर्माण गरि संकलन गर्न सकिनेछ र आवश्यकता अनुसार आफ्नो खेतवारीमा प्रयोग गर्न सकिनेछ । यसो गर्ने हो भने प्रत्यक्ष रुपमा के के फाईदा होलान् त? बुदाँगत रुपमा परिकल्पना गरौं है त सबै मिलेर एकैछिन्…….

पशुपालक किसान

  • पशुपालक किसानको गोठमा उत्पादन हुने मलमुत्रको सहज व्यवस्थापन तथा भरपर्दो आम्दानीको श्रोत
  • वरिपरिका समुदायमा गोवरग्यासको उपलब्धताले समुदाय र किसानको सम्वन्ध प्रगाढ
  • दुर्गन्धको कमि हुने हुदाँ वातावरणीय सुधार

खेतबारीका किसान

  • कृषि कर्म गरिरहेका किसानलाई अतिआवश्यक मलको पीरचिन्ताबाट मुक्ति, आवश्यकता अनुसार जुनसुकै बेला आवश्यक मात्रामा प्रयोग गर्न पाउने
  • प्रयोगमा सहजता, जनशक्तिको कम आवश्यकता तथा विश्वसनीय पनि
  • काममा लाग्नको लागि सकारात्मक उर्जाको विकास
  • अनावश्यक खर्चमा कमि माटोको गुणस्तर र उर्वराशक्तिमा विकास तथा वृद्धि
  • उत्पादनमा वृद्धि हुने, आम्दानीमा वृद्धि, खर्चमा हस र वचतमा वृद्धि

समाज र सरकार

  • कृषिकर्म पनि सजिलो, राम्रो र पढेलेखेकाहरुले गर्नै पर्ने पेशा हो भन्ने चिन्तनको विकास
  • जैविक मलको प्रयोगले उत्पादन हुने बालीनातलीको प्रयोगले नागरिक निरोगी तथा स्वस्थ
  • रसायनिक मलको निर्भरतामा कमि, आयातमा कमि र विदेशिने रकममा कमि
  • दिगो लक्ष्यप्राप्तिको लागि गरिने यस्ता कार्यक्रमले निरन्तर र लामो समयसम्म पनि परिणाम दिने हुदाँ सकारको लगानीको तुलनामा अधिक उपलब्धि हुने
  • विषादि तथा रसायनिक तत्व नियन्त्रणमा महत्वपूर्ण उपलब्धि । आदि …..

यो विचार एक साधारण पशुपालक किसानले लेखेको वा परिकल्पना गरेको हुँदा माथि उल्लेख गरिएका सबै कुरा तथ्यगत÷वैज्ञानिक रुपले सफल हुन् र हुनसक्छन् भन्ने कुनै आधार मसँग छैन । तथापि जैविक मललाई प्राथमिकतामा राखौं, जैविक खेतिलाई प्राथमिकतामा राखौं । व्यावसायिक कृषिलाई प्रोत्साहन गरौं, किसान जोगाऔं, कृषि उत्पादनमा आत्मनिर्भर बनौं, आयात निरुत्साहन गरौं, स्वदेशी र स्वस्थकर उत्पादनको प्रयोग गरौं आदि आदि नै हुन् मेरा पनि आशयहरु । किसानको खेत खेत र किसानको गोठ गोठमा पुग्ने यसप्रकारको कार्यक्रम गरौं । यति कार्यक्रम त स्थानीय सरकार समेतले पनि गर्न सक्छ ः यदि चाहने हो भने । गोठदेखि ओठसम्म, आलीदेखि थालीसम्मः किसानका खुशी समेटिएका उत्पादनले जनजनको भोक मेटाउँदै स्वस्थ नागरिक सहितको समृद्ध देश बनाउन ढिला नगरौं ।

जय कृषि, जय किसान

ईश्वर बलामी, शुभारम्भ कृषि फार्म, चन्द्रागिरि नगरपालिका, थानकोट  

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत