शाेणितपुर सम्पादकीय:
नेपालको राजनीतिक आकाशमा फागुन २१, २०८२ एउटा यस्तो ऐतिहासिक मोड बन्यो, जसले दशकौँदेखिको अन्योल चिरेर लोकतन्त्रको नयाँ परिभाषा लेखेको छ। ‘Gen-Z’ आन्दोलनपछिको संक्रमणकालीन जटिलतालाई चिर्दै देशलाई निर्वाचनको सुरक्षित किनारमा पुर्याउनु चानचुने चुनौती थिएन। यस कठिन घडीमा नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले प्रदर्शन गर्नुभएको दृढता र निष्पक्षता नेपाली राजनीतिक इतिहासमा एउटा स्वर्णिम मानकका रूपमा स्थापित भएको छ।
शान्ति र निष्पक्षताको नयाँ युग :
विगतका निर्वाचनहरू यदाकदा बुथ कब्जा, चुनावी हिंसा र शक्ति-पैसाको नग्न नाचका
कुख्यात कुराहरु सुनिन्थ्ये तर, यसपटकको निर्वाचन तुलनात्मक रूपमा यस अगाडिका निर्वाचन भन्दा शान्तिपूर्ण, स्वच्छ र भयरहित रह्यो।
पूर्व प्रधानन्यायाधीशको छवि बोकेकी कार्कीले प्रशासन र सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट पूर्णतः मुक्त राख्दै जुन व्यावसायिकता प्रदर्शन गर्न लगाउनुभयो, त्यसले आम मतदातालाई निर्धक्क भएर मतदान केन्द्रसम्म पुग्ने वातावरण दियो। यो सफलताले ‘निर्वाचन निष्पक्ष हुन सक्छ’ भन्ने हराउँदै गएको जनविश्वासलाई पुनः ब्युँताएको छ।
दृष्टि थकान र दलदास चेतनाबाट मुक्ति :
यस निर्वाचनको नतिजा केवल गणितीय फेरबदल मात्र होइन, यो दशकौँदेखि उही अनुहार र उही आश्वासन सुन्दा-सुन्दा थाकेका जनताको ‘दृष्टि थकान’ (Vision Fatigue) को उपज पनि हो। पुराना नेताहरूको कार्यशैलीप्रति वाक्क भएका नेपाली मतदाताले यसपटक एउटा बलियो सन्देश दिएका छन्— जनता अब कसैका ‘दलदास’ वा ‘अन्धभक्त’ होइनन्। झण्डा बोक्ने र नारा लगाउने भीडभन्दा माथि उठेर सचेत नागरिकका रूपमा मतदाताले प्रयोग गरेको विवेकले परम्परागत राजनीतिको जरो हल्लाइदिएको छ।
मौन विद्रोहको आँधी र जवाफदेहिताको भाष्य :
यो निर्वाचन मतपत्रमार्फत व्यक्त गरिएको एउटा ‘मौन विद्रोहको आँधी’ हो। यसले नेपाली राजनीतिमा एउटा शक्तिशाली भाष्य स्थापित गरिदिएको छ: “राम्रो काम नगरे जनताले ब्यालेट विद्रोह गर्दछन्।” अब सिंहदरबार छिर्ने नयाँ शक्ति र नेतृत्वका लागि यो ठूलो चेतावनी र अग्निपरीक्षा दुवै हो। चुनाव जित्नु भनेको पाँच वर्षका लागि स्वेच्छाचारी बन्ने अनुमति पाउनु होइन, बरु जनताको निरन्तर निगरानीमा रहनु हो भन्ने सत्य अब स्थापित भएको छ। यो विद्रोहले आगामी नेतृत्वलाई विगतका शासकहरूभन्दा कैयौँ गुणा बढी जवाफदेही र उत्तरदायी बनाउनेछ।
निष्कर्ष :
सुशीला कार्कीको प्रशंसनीय नेतृत्वमा सम्पन्न यो निर्वाचनले लोकतन्त्रलाई पुनर्जीवन दिएको छ। संक्रमणकालीन व्यवस्थापनको यो कौशल र मतदाताले देखाएको यो अभूतपूर्व चेतनाले नेपाल अब नयाँ युगमा प्रवेश गरेको छ। अबको नेतृत्वले बुझ्नुपर्छ— यदि जनताको अपेक्षामा खरो उत्रिन सकिएन भने, अर्को ‘ब्यालेट विद्रोह’ को आँधीले कसैलाई पनि बाँकी राख्ने छैन। निष्पक्ष निर्वाचन गराएर सत्ता हस्तान्तरणको तयारीमा रहनुभएकी कार्कीलाई इतिहासले ‘संकटको सारथि’ र ‘साहसी अभिभावक’ का रूपमा सधैँ सम्मान गर्नेछ।