काठमाडाैं । धैरेनी डाँडाको सरसफाइ अभियानमा स्थानीय सरकारको प्रभावकारी भूमिका नदेखिएको भन्दै सरसफाइ अभियानकर्ताहरूले असन्तुष्टि पोखेका छन् ।
ऐतिहासिक, धार्मिक तथा पर्या-पर्यटनको दृष्टिबाट अत्यन्त महत्वपूर्ण धैरेनी डाँडामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको बाक्लो आगमन तथा उनीहरूले प्रयोग गर्ने विभिन्न प्याकेजिङ्ग खानेकुराको खोल, पानी, बियर लगायतका बोतल र नकुहिने प्लास्टिक प्लेट, गिलासजन्य फोहर जथाभावी फाल्ने कार्यबाट मनोरम धैरेनी डाँडा कुरुप हुँदै गएको अवस्थामा सो क्षेत्रको सरसफाइमा अग्रसरता लिएका स्थानीय संस्थाहरूले स्थानीय सरकारको उचित समन्वय अभावका कारण समस्या उत्पन्न भएको गुनासो गरेका हुन् ।
चन्द्रागिरि नगर क्षेत्रकै अत्यन्त महत्वपूर्ण चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोक, ईन्द्रस्थान नजिक रहेको धैरेनी डाँडा पर्यटन, सम्पदा र स्थानीय संस्कृतिको प्रवर्द्धनका दृष्टिकोणले समेत विकास गर्न सकिने स्थान भएको तर स्थानीय सरकारले यस विषयलाई गम्भीरतापूर्वक आत्मसात गर्न नसक्नाले फोहोर व्यवस्थापन र सरसफाइ अभियानले मूर्त रूप लिन नसकेको भन्दै अभियन्ताहरूले विमति जनाएका हुन् ।
पर्यटकीय साँस्कृतिक नगरीको स्लोगन चन्द्रागिरि नगरपालिकाको लेटर प्याड र बोर्डमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्ने हो भने धैरेनी डाँडाको प्राकृतिक सौन्दर्य अक्षुण्ण राख्दै स्थानीय सरकारले त्यस क्षेत्रको समग्र व्यवस्थापन, संरक्षणका लागि दीर्घकालीन योजना बनाएर कार्य गर्न हतार भइसकेको भन्दै सामाजिक अभियन्ताहरूले स्थानीय सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।
धैरेनी डाँडामा पछिल्लो समय अत्यधिक फोहर थुप्रिएर उक्त क्षेत्र प्रदुषित भएको भन्दै चन्द्रागिरि नगरपालिकाको स्थानीय २ ओटा संस्थाहरू चन्द्रागिरि हाईकर्स कम्युनिटी तथा जेसिआई थानकोटको संयुक्त आयोजनामा चैत्र ४ गते धैरेनी डाँडा सफाइ अभियानको थालनी गरिएको थियो ।