विज्ञापन
No data was found

'नयाँ वर्षमा घुम्नैपर्ने चन्द्रागिरिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरू'

 

विज्ञापन

 

विज्ञापन

 

शोणितपुर खबर

चन्द्रागिरि नगरपालिका ऐतिहासिक दृष्टिकोणबाट मानव सभ्यता विकासको उद्भव स्थलको रूपमा चिनिन्छ ।

प्राचीनता, आदिम साँस्कृतिक प्रचलन, पुरातत्त्व, धार्मिक महत्वका सम्पदा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पवित्र चन्द्रागिरि क्षेत्र आधुनिक पर्यटनको सन्दर्भमा समेत अग्रणी स्थानमा रहेको छ ।

१५ ओटा वडा समेटेर बनेको चन्द्रागिरि नगरपालिकाका हरेक वडामा इतिहास, संस्कृति, पुरातत्त्व, प्राकृतिक विशेषता तथा जातीय परम्पराको बलियो समाजशास्त्रीय अनुगुण निहित रहेको पाइन्छ ।

चन्द्रागिरिमा विदा वा कुनै अन्य अवसर पारेर पारिवारिक रूपमा रमाइलोका लागि घुम्न, अध्ययन, अवलोकन गर्न र मानसिक तनाव कम गर्न मद्दत पुर्याउने प्रशस्त स्थानहरू छन् ।

ईन्द्रदह, कालू पाँडेको समाधि लगायत क्षेत्र :

चन्द्रागिरि नगरपालिकाको वडा नं १ पछिल्लो समय पर्यटकीय आकर्षकको नयाँ गन्तव्य बन्दै गएको छ । नेपालकै सय पर्यटन गन्तव्य सूचीमा समेत पर्न सफल यो क्षेत्रमा स्विजर्ल्याण्ड डाँडा, केउरानी डाँडा बुद्ध गुम्बा, प्रसिद्ध तीर्थस्थल ईन्द्रदह, (दहचोक) काजी कालू पाँडेको समाधिस्थल, धैरेनी डाँडा, बतासे (रामिन) डाँडा, भ्यु टावर लगायत ऐतिहासिक, साँस्कृतिक एवम् प्राकृतिक महत्वका सम्पदाहरू रहेका छन् ।

दहचोक (ईन्द्रदह) क्षेत्रमा हाल आधुनिक सुविधा सम्पन्न रिसोर्ट, लज, रेष्टुरेन्ट लगायत पसलहरू प्रशस्त खुलेका छन् भने त्यहाँसम्म पुग्न पक्की सडक तथा पदमार्गहरू समेतको राम्रो विकास भइसकेको छ ।

पातले वन, मसिने तथा चन्डिकादेवी मन्दिर लगायत क्षेत्र :

चन्द्रागिरि नगरपालिकाको वडा नं २ मसिने क्षेत्रलाई काठमाडौंको कर्णाली भनेर हेप्ने गरेको पाइन्छ । यद्यपि, यस क्षेत्रको स्थानीय मौलिकता, जातीय परम्परा, संस्कृति र पहिचान चन्द्रागिरि नगरकै लागि “अर्ग्यानिक” थलो हो ।

मसिनेको विशेषतालाई अध्ययन गरेर स्थानिय सरकारले सो क्षेत्रलाई होम-स्टेको अवधारणा अन्तर्गत प्रवर्द्धन र विकास गर्न खोजिएको देखिन्छ भने ऐतिहासिक बाड्भज्याङको शिरमा रहेको धार्मिक महत्वको चण्डिका देवीको दर्शन गर्ने र त्यहाँ अवस्थित टाकुरामा पारिवारिक वनभोजको समेत लाभ लिन सकिन्छ ।

तस्तै, पातले वन, पिपलामोड भ्यू टावर, काफल डाँडा, घट्टे डाँडा पार्क तथा बिसे नगर्ची पार्कको समेत अवलोकन, भ्रमण गर्न सकिन्छ ।

लगलगे पाखा पदमार्ग तथा बुद्ध पार्क :

प्राचीन इतिहास बोकेको थानकोटको वडा नं ३ मा पनि विभिन्न प्राकृतिक मनोरमयुक्त स्थलहरू रहेका छन् । लगलगे पाखाको वन क्षेत्रमा पछिल्लो समय पदमार्गको व्यवस्थित रूट विकास गरिएको छ । त्यस्तै, भ्यू टावर पनि निर्माण गरिएको छ । साथै, भव्य बुद्ध पार्क पनि सोहि क्षेत्र अन्तर्गत निर्माण गरि विकास गरिएको छ ।

सो क्षेत्रमा पर्या-पर्यटनको प्रचूर सम्भावना रहेको पाइन्छ भने आध्यात्मिक केन्द्रको रूपमा चक्र परमहंश योग साधनाको अतुलनीय योगदान देखिन्छ ।

त्रिभुवन पार्क (सहिद स्मृति प्रकृति प्रतिष्ठान):

चन्द्रागिरि नगरपालिकाको मात्र नभई उपत्यकाकै ठूलो (१ सय ६६ रोपनी) क्षेत्रफलमा फैलिएको थानकोट वडा नं ३, ४ र महादेवस्थान ७ को सीमाना अन्तर्गत पर्ने त्रिभुवन पार्क (सहिद स्मृति प्रकृति प्रतिष्ठान) चन्द्रागिरि नगरभित्र रहेको ऐतिहासिक पार्क हो ।

राजा त्रिभुवनको सम्झनामा स्थापना गरिएको त्रिभुवनको सालिक, हरियालीयुक्त सौम्य पारिवारिक वातावरण, प्रशस्त पिकनिक स्पटहरू, खुला चौर तथा पृथ्वी राजमार्गसँगै रहेको त्रिभुवन पार्क ठुला ठुला भोज भतेर, पारिवारिक वनभोज लगायत कार्यका लागि प्रसिद्ध रहँदै आएको छ । कुनैबेला नेपाली चलचित्रहरूको सुटिङका लागि पहिलो रोजाइमा पर्ने त्रिभुवन पार्कमा हाल वनभोज, घुमघामका लागि प्रत्येक शनिबार र अन्य विदाका दिनहरूमा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

चन्द्रागिरि भालेश्वर मन्दिर र केबलकार :

ऐतिहासिक चन्द्रागिरि पर्वत शृङ्खला अन्तर्गत भालेश्वर डाँडामा रहेको विशिष्ट धार्मिक महत्वको भालेश्वर मन्दिर आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि पहिलो रोजाइमा पर्दै गइरहेको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकाको त्रिवेणी सङ्गमको रूपमा रहेको भालेश्व महादेवको प्राचीन महत्व रहँदै आएको छ भने स्थानीय आदिबासीहरूको ईष्टदेव (रक्षकको रूपमा) सदिऔंदेखि पुजनीय रहिआएको पाइन्छ ।

केहि समय अगाडि चन्द्रागिरि हिल्सले भालेश्वर मन्दिरसम्म पुग्न केबलकार, भ्यू टावर, जिप लाइन, स्काईवाक, अन्तरास्ट्रिय स्तरको सुविधा सम्पन्न आधुनिक रिसोर्ट तथा अन्य विभिन्न व्यावसायिक संरचना निर्माण गरेपछि सो क्षेत्र नेपालकै नमूना पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको छ ।

हाल चन्द्रागिरि भालेश्वर महादेवको दर्शन गर्न र मानसिक, शारीरिक थकान मेट्न चन्द्रागिरि केबलकार हुँदै भालेश्वर डाँडाको प्राकृतिक रस्वादन गर्न दैनिक हजारौं पर्यटकरूको आगमन हुने गरेको छ ।

मातातीर्थ, चन्दन भराटेश्वर र मच्छेनारायण मन्दिर :

त्यस्तै, वडा नं ६ मा रहेको ६४ लिङ्ग मध्येको चन्दन भराटेश्वर मन्दिर, विश्वकै एकमात्र (आमातीर्थ) मातातीर्थ, वडा नं ७ स्थित राम लक्ष्मणले घुँडा टेकेको गुमालचौकी वन क्षेत्र, वडा नं ५ मा अवस्थित कालिकादेवी मन्दिर तथा ऐतिहासिक किसिपिडीको सम्पदा बस्ती, वडा नं ८ मा रहेको विभिन्न पार्क, धार्मिक स्थल, वडा नं ९ स्थित पौराणिक मच्छेनारायण मन्दिर तथा शान्ति पार्क, थानकोटमा रहेको महालक्ष्मी, आदिनारायण मन्दिर तथा कोतघर क्षेत्र पनि धार्मिक, आध्यात्मिक दृष्टिले चन्द्रागिरिको घुम्नुपर्ने स्थानहरू मध्येमा पर्दछन् ।

विन्ध्यवासिनी, चुन्देवी, कंकाली तथा विष्णुदेवी मन्दिर :

चन्द्रागिरि नगरपालिका वडा नं १० अन्तर्गतको विन्ध्यवासिनी मन्दिर, वडा १२ को चुन्देवी मन्दिर तथा प्राचीन “भास्तिपुर” बलम्बु सम्पदा बस्ती, वडा नं १४ मा रहेको आद्य कालिका, कंकाली मन्दिर, भ्यू टावर, वडा नं ११ तथा १३ मा रहेका विभिन्न देवस्थल र पार्कहरू पनि घुम्नुपर्ने स्थानका रूपमा प्रसिद्ध छन् ।

त्यस्तै, वडा नं १५ स्थित विष्णुदेवी, गोलोकेश्वर मन्दिर तथा भिराडिल पार्क लगायत चन्द्रागिरिमा रहेका असंख्य मूर्त, अमूर्त सम्पदाहरू पर्यटनका दृष्टिले महत्वपूर्ण र घुम्नै पर्ने स्थानहरू हुन् ।

त्यस्तै, चन्द्रागिरिसँग सीमा जोडिएका पुष्पलाल पार्क, चम्पादेवी मन्दिर तथा भष्मेश्वर मन्दिर पनि महत्वपूर्ण र आन्तरिक पर्यटकहरूको छनौटमा पर्दै आएका स्थानहरू हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरि साकोस तथा लायन्स क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै

मातातीर्थ औंशीको दिन मातातीर्थ कुण्डमा किन लाग्छ विशेष मेला ?

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै