काठमाडाैं । मातातीर्थ औंशीको दिन चन्द्रागिरि नगरपालिका ६ मा रहेको मातातीर्थ कुण्डमा विशेष मेला लाग्छ । यस अवसरमा कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?
यो वर्ष मातातीर्थ औंसी वैशाख ४ गते परेको छ । मातातीर्थ मेलाको अघिल्लो दिन अर्थात वैशाख ३ गते नै मेला लाग्ने, आरती हुने र हिन्दु तथा बौद्ध धर्मावलम्बीरू यस पवित्र मातातीर्थ भूमिमा आई रातभरि बत्ती बालेर आफ्नो विधि अनुसार पुजा गर्ने र जाग्राम बस्ने गर्दछन् । मातातीर्थलाई हिन्दु र बौद्ध धर्मको संगम स्थल पनि मानिन्छ ।
मातातीर्थको मेलामा काठमाडौं वरपरका धर्मावलम्बीरूको बिहानैदेखि घुइँचो लाग्छ । आफ्नो मृत आमाको सम्झनामा यस पवित्र भूमिमा आई नुहाएर आमाको सम्झनामा पिण्ड दान गर्ने, पुजा गर्ने गर्दछन् । मातातीर्थ औंशीका दिन भक्तनहरू यस तीर्थमा आई पोखरीमा डुबुल्की मारेर, धारामा स्नान गरी श्राद्ध गर्दछन् र ठूलो पोखरीमा पिण्ड सेलाउने गर्दछन् ।
छोराछोरीले आमाप्रति तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आआफ्नी आमाको मोक्ष प्राप्त गराउन यस पवित्र तीर्थमा मेला भर्न हरेक वर्ष काठमाडौं वरिपरिबाट लाखौं भक्तजनहरु चन्द्रागिरिको मातातीर्थमा आउने गर्छन् ।
मातातीर्थ औंशी एक पुण्य तिथि भएकोले यो तिथि शुभ कार्यको शुभ साइत पनि हो । तसर्थ जीवित र मृत आमालाई श्रद्धाभाव अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास रहिआएको छ ।
मातातीर्थमा कुनबाटो प्रयोग गरेर कसरी पुग्ने ?
मातातीर्थ कुण्ड जानको लागि सार्वजनिक यातायात या निजी सवारीसाधन प्रयोग गरेर कलंकीको बाटोबाट आउने दर्शनार्थीहरूले सतुंगल हुँदै जानुपर्ने हुन्छ भने नागढुङ्गाको बाटो हुँदै आउनेहरूले चेकपोष्ट हुँदै पनि जान सकिन्छ । त्यस्तै पैदल यात्राबाट भने गुर्जुधारा, दाउरा डिपो तथा चेकपोस्ट नजिक रहेको पाउरोटी कारखाना हुँदै जान सकिनेगरि व्यवस्था मिलाइएको मातातीर्थ विकास संस्थाका अध्यक्ष शान्त उदासले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।
त्यस्तै, बैशाख ३ र ४ गते दुईदिन हुने मातातीर्थ मेलाको सम्पूर्ण तयारी सम्पन्न भैसकेको वडा नं ६ का वडाध्यक्ष संजय सिग्देलले बताएका छन् ।
साथै, मेला व्यवस्थापनको सम्बन्धमा कुनै अप्रिय घटना हुन नदिन प्रहरी वृत्त थानकोटले कडा सुरक्षा व्यवस्था मिलाएको छ भने वृत्त प्रमुख एलिजा गिरीले मातातीर्थको स्थलगत अनुगमन, निरीक्षण समेत गरेकि छिन् ।