काठमाडौं । पूर्वको तीनजुरे, मिल्के, गुफा, पाथीभरा क्षेत्र प्राकृतिक हिसाबले सुन्दर क्षेत्र हो । लालीगुराँस नगरपालिका–१ अन्तर्गत पर्ने तिनजुरे, मिल्के र जलजले क्षेत्रमा गुराँस फुल्न थालेसँगै पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ ।
यस क्षेत्र अहिले रंगीन गुराँसले ढाकिँदा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण बनेको छ ।
तिनजुरे, मिल्के र जलजले क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारस्थित चोत्लुङ पार्क, तिनजुरे क्षेत्रको आरआर गार्डेन, पाथीभरा मन्दिर, तिनजुरे पिक, पाँच पोखरी र गुफापोखरी अहिले पर्यटकले भरिभराउ छन् । वनजंगलभरि फुलेका राताम्य गुराँसले यहाँको सौन्दर्य झनै आकर्षक बनाएको छ। यस क्षेत्रमा २८ प्रजातिका गुराँस पाइने भएकाले जैविक विविधताको हिसाबले पनि यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ ।
त्यसैगरी तिनजुरे जाने सडकका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गरिएको छ भने पाथीभरा मन्दिर जाने सिँढीमार्गमा छाना जडान गरिएको छ, जसले यात्रुलाई थप सहज बनाएको छ ।
तिनजुरे, मिल्के र जलजले क्षेत्र गुराँसको राजधानी हो । विश्वमा पाइने ४२ प्रजातिका गुराँस मध्ये नेपालमा ३२ प्रजातिका छन् । नेपालमा पाइने ३२ प्रजाति मध्ये यही क्षेत्रमा २८ प्रजातिका यही क्षेत्रमा पाइन्छन् । १७१ प्रजातिका सुनाखरी, दुर्लभ वन्यजन्तु, पशुपंक्षी, चराचुरुंगी र दुर्लभ वनस्पतिको भण्डारको रुपमा पनि पाथीभरा क्षेत्रलाई चिनिन्छ ।
तेह्रथुम , ताप्लेजुङ, संखुवासभाको सिमानामा रहेको तिनजुरे मिल्के जलजले (टिएमजे) मा चैत बैशाख जेठमा गुराँस फुलेर ढकमक्क फुल्ने हुँदा यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटनको आगमन हुने गर्दछ ।
पुर्वको इटहरी, धरान, धनकुटा र तेह्रथुमको बसन्तपुर हुँदै (टिएमजे) पुग्न सकिन्छ । इटहरीबाट लगातारको करिब ५-६ घण्टाको सवारीसाधनको यात्रामा पुगिन्छ ।
तिनजुरे डाँडा समुद्री सतहबाट करिब १७ सय देखि ५ हजार मिटरको उचाइमा पर्दछ ।