काठमाडौं । चन्द्रागिरि हाइकर्स कम्युनिटीले संघीय साम्सद प्रदीप विष्टसँग वैशाख ६ गते चन्द्रागिरि नगरपालिका तथा समग्र निर्वाचन क्षेत्र नं १० अन्तर्गत रहेका विविध स्थानीय सरोकारका विषयमा छलफल गरेको छ ।
चन्द्रागिरि नगरपालिकामा विगत लामो समयदेखि संस्कृति, सम्पदा तथा प्रकृति, पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको चन्द्रागिरि हाइकर्स कम्युनिटीले वैशाख ६ गते संघीय साम्सद प्रदीप विष्टको प्रमुख उपस्थितिमा चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायको प्रकृति, चुनौती र समाधानका विषयमा अन्तर्कृया गरेको हो ।
शिक्षा, स्वास्थ्य, सहकारी, वातावरण, स्थानीय उत्पादन लगायत विभिन्न क्षेत्रमा आवद्ध स्थानीय व्यवसायीहरूले साम्सद विष्टसँग वृहत् छलफल मार्फत स्थानीय व्यवसायीहरूका समस्याहरू साथै नीतिगत जटिलताहरूका बारे खुलेर छलफल गरेको चन्द्रागिरि हाइकर्स कम्युनिटिका अध्यक्ष प्रशन्न मान गोपालीले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।
चन्द्रागिरि हाइकर्स क्याफेमा आयोजना गरिएको कार्यक्रममा विशुद्ध व्यावसायिक क्षेत्रको विकास तथा स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरणमा नीतिगत अस्पष्टताले सिर्जना गरिरहेको “अप्ठ्यारो” बारे व्यवसायीहरूले आ-आफ्ना धारणाहरू राखेको र साम्सद विष्टले आफ्नो कार्याकालमा आफ्नो क्षेत्रका सबैखाले समस्याहरूको समष्टिगत अध्ययन गरेर नीति निर्माण गर्ने प्रतिबद्धता जनाएको आयोजकले बताएको छ ।