काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार हुन चाहनेहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ।
रास्वपाबाट स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष तथा मेयर-उपमेयरमा उम्मेदवारी दिनुअघि पार्टी सदस्यहरूले यी दुई ठाउँमा पढेर उत्तीर्ण हुनैपर्ने नियम बनाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय लिएको प्रवक्ता मनिष झाले बताएका छन् ।
रास्वपाले आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्वप्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लबको अभ्यास थाल्ने निर्णय पनि गरेको थियो।
क्यान्डिडेट क्लबको अभ्यास थालिने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुरा र कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न पनि रास्वपाले निर्देशन दिएको थियो।