काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको विस्तृत र वैज्ञानिक रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले ‘सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति’ छान्ने परिपाटी स्थापित गर्न १३ बुँदे विशिष्ट उद्देश्यसहितको कार्यविधि तयार पारेको हो ।
लिडरसिप एकेडेमी (२५):
आकांक्षीहरूको नेतृत्व परीक्षण र वैचारिक स्पष्टताका लागि लिडरसिप एकेडेमीको प्रशिक्षण र नतिजालाई अनिवार्य गरिएको छ । यसमा उत्तीर्ण हुनेले मात्र आगामी चरणमा प्रवेश पाउनेछन् ।
पोलिटिकल प्रोक्सिमिटी (२५):
विगतको राजनीतिक पृष्ठभूमि, साङ्गठनिक आबद्धता, जनसम्बन्ध र विजयको सम्भाव्यताका आधारमा वस्तुपरक मूल्याङ्कन गरिनेछ ।
समावेशिता (१०):
संविधानको भावना अनुसार महिला, दलित, सीमान्तकृत, युवा र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न १० प्रतिशत अङ्कभार छुट्ट्याइएको छ ।
प्रारम्भिक निर्वाचन (४०):
पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सदस्यहरूको मताधिकार सुनिश्चित गर्न प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी भार दिइएको छ ।
‘क्यान्डिडेट क्लब’ र ‘ल्याटरल इन्ट्री’को व्यवस्था
उम्मेदवार बन्न इच्छुक व्यक्तिले सर्वप्रथम पार्टीको ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्नेछ । पालिका र वडा तहका लागि छुट्टाछुट्टै क्लब गठन गरिनेछन् । पार्टीले नयाँ र योग्य व्यक्तिलाई समेट्न विशेष प्रवेशको व्यवस्था समेत गरेको छ, जसमा प्रतिष्ठित र विज्ञ व्यक्तिलाई ‘कुलिङ पिरियड’को अवधि पूरा नभए पनि आवेदन दिने बाटो खुला गरिएको छ ।
मतदान प्रक्रियालाई सुरक्षित बनाउन रास्वपाले आधिकारिक एपमार्फत ‘अनलाइन मतदान’को प्राथमिक विधि अपनाउने भएको छ । तथ्याङ्कमा छेडछाड नहोस् भन्नका लागि ‘ब्लकचेन’ वा सोसरहको प्रविधि प्रयोग गरिने रूपरेखामा उल्लेख छ ।
पार्टीले उम्मेदवार छनोटमा हुने आर्थिक लेनदेन, गुटबन्दी र धाँधलीविरुद्ध ‘शून्य सहनशीलता’को नीति लिएको छ । आचारसंहिता उल्लङ्घन गर्ने जो-कोहीलाई तत्काल निष्कासन गर्ने र उम्मेदवारी खारेज गर्ने कडा व्यवस्था गरिएको छ ।
RSP