काठमाडाैं । त्रिभुवन पार्कको सञ्चालन तथा व्यवस्थापन कार्यका लागि बागमती सरकारको मन्त्रीपरिषद्ले चन्द्रबहादुर गोपालीको अध्यक्षतामा नयाँ कार्यसमितिको घोषणा गरेको छ ।
इतिहास बोकेको त्रिभुवन पार्कभित्र चलिरहेको व्यथिति र अनियमितता रोक्न बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्ले नयाँ व्यवस्थापन समितिको निर्णय गरेसँगै त्रिभुवन पार्कको स्वामित्व स्थानिय बासिन्दाहरूको पहुँचमा प्रवेश गरेको छ भने पार्कको दीर्घकालीन विकासको नयाँ ढोका खुलेको मानिएको छ ।
चन्द्रागिरि नगरपालिकाको वडा नं ३, ४ र ७ मा अवस्थित त्रिभुवन पार्कको विषयमा निक्कै लामो समयदेखि विवाद चलिरहेको थियो । बागमती प्रदेशको मन्त्री परिषद्को निर्णयसँगै अब त्रिभुवन पार्क सञ्चालन, व्यवस्थापनको पुनर्संरचना हुने तथा उक्त पार्कले नयाँ जीवन पाउने त्रिभुवन पार्क संरक्षण तथा व्यवस्थापन समितिको समेत अगुवाइ गरेकी बागमती प्रदेशमन्त्री बिन्दु श्रेष्ठले जानकारी दिएकी छिन् ।
पौष १६ गते बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले त्रिभुवन पार्कका साथै नव बुद्धपार्क क्षेत्र विकास समितिको व्यवस्थापन तथा सञ्चालनका लागि समिति गठन आदेश दिएको भएपनि विभिन्न शक्ति संघर्ष तथा राजनीतिक खिचातानीले पार्क सम्बन्धि विषयले निकास पाउन सकेको थिएन ।
बागमती प्रदेश सरकारको मन्त्री परिषद्को वैशाख २२ गतेको निर्णय अनुसार त्रिभुवन पार्कको व्यवस्थापन तथा सञ्चालन सम्बन्धि नयाँ कार्यविधि निर्माण गरिएको छ भने प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानियहरूको सहभागिता रहनेगरि नयाँ कार्यसमितिको घोषणा गरिएको छ ।
नेपाल सरकार संघीय मन्त्रीपरिषद्को मिति २०७५ चैत्र ४ गतेको निर्णय, सम्मानित उच्चअदालत पाटनको मिति २०७८ मंसिर २९ को फैसला अनुसार काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नं ३, ४ र ७ मा अवस्थित त्रिभुवन पार्क (शहिद स्मारक प्रकृति प्रतिष्ठान) बागमती प्रदेश सरकारले व्यवस्थापन गर्नेगरि निर्णय भएको तथा बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्को मिति २०८१ साल जेठ २ गतेको बैठकले उक्त पार्कको व्यवस्थापन गर्ने जिम्मेवारी बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयलाई तोक्ने निर्णय गरेको थियो ।