काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेकी नानुमैया बास्तोला लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा कृयाशील युवा नेतृ हुन् ।
२०३७ साल चैत २९ गते जन्मिएकी उनी उदयपुर जिल्लाकी स्थायी बासिन्दा हुन्। बास्तोला काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ (क) बाट राजनीतिमा सक्रिय रहँदै आएको देखिन्छ। उनले सो क्षेत्रबाट गत निर्वाचनमा ४ हजार २० मत प्राप्त गरेकी थिइन् भने पार्टीको समानुपातिकतर्फ ६ हजार ९ सय ९१ मत हासिल गरेकी थिइन् ।
अविवाहित बास्तोलाले मास्टर्स तह उत्तीर्ण गरेकी छिन् । सामाजिक न्याय, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा निरन्तर क्रियाशील रहँदै आएकी उनी क्षेत्र नं ९ तर्फका बलिया उम्मेदवारका रूपा चिनिन्छिन् ।
नानु मैया बास्तोलाको राजनीतिक योजना जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूमा केन्द्रित देखिन्छ । उनले सुशासन, पारदर्शिता र जनउत्तरदायी प्रशासनलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तारमा जोड दिने लक्ष्य लिएकी छन्।
महिला, युवा र पछाडि परेका समुदायको सशक्तीकरण गर्दै समान अधिकार र समावेशी विकास सुनिश्चित गर्ने मुख्य एजेन्डा बोकेर उम्मेदवारी दिएकी उनले स्थानीय विकास, आधारभूत पूर्वाधार सुधार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमार्फत समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको छ ।
नेपाली काँग्रेसको संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी उनले पार्टीको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई जनस्तरसम्म पुर्याउन निरन्तर काम गर्दै आएकी छन्।
पार्टीभित्र महिला र युवाको सहभागिता बढाउने, संगठन विस्तार गर्ने तथा स्थानीय तहमा पार्टीलाई मजबुत बनाउने कार्यमा उनको उल्लेखनीय योगदान रहेको छ। उनले पार्टी र जनताको बीच सेतुको भूमिका निर्वाह गर्दै पार्टीगत कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रियता देखाएकी छन्।
नानु मैया बास्तोला सामाजिक सेवामा समेत सक्रिय व्यक्तित्व हुन्। उनले महिला सशक्तीकरण, शिक्षा प्रवर्द्धन र स्वास्थ्य सचेतनासँग सम्बन्धित विभिन्न सामाजिक कार्यक्रममा सहभागिता जनाउँदै आएकी छन्। विपन्न तथा पछाडि परेका समुदायका लागि सहयोग, सचेतना अभियान र सामुदायिक विकासका गतिविधिमा उनको निरन्तर योगदान रहेको पाइन्छ ।
बास्तोलाको उद्देश्य न्यायपूर्ण, समावेशी र समृद्ध समाज निर्माण गर्नु हो। उनले सुशासन, पारदर्शिता र जनमुखी विकासमार्फत जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएर काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट उम्मेदवारी दिएको जनाएकी छिन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा कुल ७८ हजार ४ सय ९५ मतदाता रहेका छन् । जसमा महिला ४० हजार २ सय ७८ जना र पुरुष ३८ हजार २ सय १७ जना रहेका छन् । साथै, यस निर्वाचन क्षेत्रमा ३४ मतदान स्थल र ९० मतदान केन्द्र रहेको छ ।