- चेतना शर्मा
चेतना शर्मा नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आएकी प्रभावशाली नारी स्रष्टा हुन् ।
मुलतः कथा, निबन्ध मार्फत सामाजिक विकृति, नारी मुक्ति तथा अस्तित्ववादी चिन्तनको केन्द्रमा रहेर सृजना कर्ममा समर्पित शर्मा कवितामा अधिक संक्षिप्ततासहित व्यापक भाव प्रसारण गर्न सफल कवि समेत हुन् ।
शोणितपुर “शनिबार-साहित्यबार” श्रृङखला अन्तर्गत उनै प्रखर कवि, चेतना शर्माका ३ ओटा छोटा कविता प्रस्तुत गरिएको छ ।
छुटिनु
_____________________
तिमी र म यसरी भयौँ अलग
जसरी अलग हुन्छ
सिपीबाट मोती
जसरी अलग हुन्छ सूर्य
बिहानी हुन आफ्नै गर्भबाट
जसरी सिँचन गर्न भूमिको
अलग हुन्छ वर्षा बादलबाट
हामी त्यसरी नै अलग भयौँ
जसरी फुट्छ बिऊबाट,
अङ्कुरण हुने बिरुवा
आफ्नै बाटो खोज्दै
नयाँ जीवनको आह्वान गर्न ।
हाम्रो छुटिनु कुनै आवसाद होइन,
हाम्रो छुटिनु मुक्ति हो,
हाम्रो छुटिनु आफैंभित्रको सिर्जना खोज्नु हो ।
हेर त !
छुटिनु प्रकृतिको नियम रहेछ,
पुनरागमन रहेछ,
र नयाँ जीवन रहेछ ।

~~~~~~~~~~~~~~~~
बूढो गाउँ
_________________________
गाउँको घरमा एउटा बूढो ढोका, जो अझै पर्खाइमा छ परिचित पदचापहरूको स्वागत गर्न ।
घरअगाडिको त्यो पिपलको चौतारी, जहाँ गफगाफमै कति कथाहरू बुनिन्थे आज एउटा निराश वृद्ध झैँ, एक्लो उभिएर, आफ्नै पुराना स्मृतिहरूसँगै बाँचेको छ ।
सपना र पैतालासँगै दौडिने ती धूलाम्मे बाटाहरू, अचेल सुनसान छन् ।
मान्छेको जस्तै गाउँको पनि एउटा उमेर हुँदो रहेछ,
जसलाई सबैले बिस्तारै छाडेर जाँदा रहेछन् ।

~~~~~~~~~~~~~~~~~~~
विनिर्मार्ण
_____________________
आफ्नो
मौनतालाई आवाज दिन
एउटा स्त्री चट्टान तोड्छे l
जसो जसो
चट्टानका कण खस्छन्
उसो उसो ऊ निख्रदै जान्छे !
