विज्ञापन
No data was found

'“The Eleventh Hour” टुक्रा टुक्रामा अभिव्यक्त दार्शनिक, ऐतिहासिक र मनोवैज्ञानिक आहटहरू'

 

विज्ञापन

 

विज्ञापन

 

पुस्तक टिप्पणी : अनमोल कँडेल

रातको १२ बजिसकेको छ । बिरामी भएकोले एउटा आइबुप्रोफेनको ट्याब्लेट तातो पानीसँग घुटुक्क निल्छु, बत्ती निभाउँछु र लेख्न बस्छु । कल्पना गर्छु म एउटा क्याफेमा छु र मेरो टेबलमा मेरो अल्टर इगो (जो एउटा बुढो मान्छेको स्वरूपमा छ) मेरो अघि उभिएको छ । म भन्छु मलाई हरारी मन पर्छ । ऊ चुपचाप लाग्छ । म मेरो सत्य ठोकुवा गरेर भन्छु । ऊ मुस्कुराउँछ, केही बोल्दैन । म उसलाई इतिहासलाई एक रेखीय शैलीमा सुनाउँछु । उसले आँखा खुम्चाउँछ र एउटा संशयवादी दृष्टिले मलाई हेर्दै एक घुट्को पानी पिउँछ । मलाई जीवनको प्यास छ । उसलाई मृत्युको । म सुपरस्टार कल्चरको कुरा गर्छु । ऊ, मरिसकेपछि चर्चामा आएको लेख र लेखक सम्झन्छ । म आफूप्रति विश्वस्त छु – कन्फिडेन्ट छु । ऊ केवल आफ्नो सीमाहरू छाम्छ र सीमा पारिको अनन्त अँध्यारो अन्तरिक्षमा मौन पल्टिन्छ ।

एकथरि इतिहासविद् हुन्छन् युवल नोआ हरारी जस्तो जो एकात्मक कथनमा विश्वास गर्छन् । उनलाई पढेपछि मानिसहरूलाई सम्पूर्ण इतिहास जानेको भ्रम पैदा हुन्छ । तर, अर्को थरि इतिहासविदहरू छन् जसलाई यो एकात्मक शैली केवल न्यारेशन लाग्छ । एकथरि दार्शनिकहरू हुन्छन् (जस्तो हेगेल र मार्क्स) जसलाई इतिहासको गति वा डायनामिक्सलाई कुनै एक ठोस शैलीमा वैचारिकीकरण गर्न सकिन्छ भन्छन् (विचार नै यिनीहरूको लागि ब्रह्म भएकोले उनीहरूको लागि कुनै एक व्यक्तिको जीवन खासै ठूलो महत्व राख्दैन, किनकि त्यो ऐतिहासिक मोडको केवल एक सानो अवयव मात्र हो) भने अर्को थरि दार्शनिकहरू (जस्तै पोस्टमोडर्न दार्शनिकहरूः नित्शे, फुको, ल्योटार्ड) को लागि सत्यलाई कुनै एक विचारले व्यक्त गर्न सक्दैन – त्यो त बहुआयामिक हुन्छ भन्ने मान्यता राख्छन् ।

गहिरिएर हेर्दा यी दृष्टिकोणहरूको सम्बन्ध धर्मसँग पनि छ । जस्तो एक थरि धर्म हुन्छ जसमा सबैकुरा फिक्स्ड हुन्छ र धार्मिक किताबहरूमा लेखिएको हरेक कुरा पराभौतिक र भौतिक सत्य हुन्छ (जस्तो इसाई र इस्लाम), यी धर्महरूका कहानिहरूमा एकरूपता हुन्छ र फलस्वरूप यिनीहरूलाई तोडमोड गर्न सकिँदैन । भने, अर्को थरि धर्म हुन्छ जसमा एउटै कहानी ठाउँ अनुसार भिन्न भिन्न रूपमा विकसित भएको पाइन्छ (जस्तो हिन्दु) – यस्तो धर्म बहुकोणीय भएको हुनाले यिनीहरूमा को मुख्य भगवान भन्ने विषय (शिव वा कृष्ण वा देवी)देखि, संसारको सृजन कसरी भयो भन्ने कथनमा समेत बहु-मान्यता पाइन्छ ।

जस्तो इसाई धर्ममा जीवको एउटा जीवन छ । हिन्दु, बौद्ध र जैन धर्ममा चक्रिय-बहुजीवनहरू हुने मान्यता । फलस्वरूप पहिलो किसिमका विचार वा धर्महरू (जस्तो मार्क्सिज्म र इसाई) मोनोपोलाइज गर्न सजिलो हुन्छ, तिनीहरूलाई फैलाउन र अरू व्यक्तिहरूलाई बुझाउन पनि सजिलो हुन्छ – तिनीहरूले मिसनरी स्वरूप लिन्छन् । भने, अर्को थरि विचार र धर्म बहुकोणीय भएको नाताले यिनीहरूलाई विकृत पार्न पनि सजिलो हुन्छ र यिनीहरू चाँडै अरूनै विचार र धर्मको फन्दामा पनि परिहाल्छन् । जस्तो कि हिन्दु धर्मको मुख्य ग्रन्थ वेद र गीता भए तापनि साधारण मानिस मनुस्मृतिलाई (जो कहिले लेखियो, कसले लेख्यो र कुन उद्देश्यले लेख्यो थाहा छैन) मुख्य मान्दै दिग्भ्रमित भइदिन्छन् । यी धर्महरू आफैँ भित्र भित्रै तुहिएर गइरहेको पाइन्छ ।

समय बदलिन्छ । मान्यताहरू पनि । इसाई धर्म पनि क्याथोलिक र प्रोटेस्टेन्टमा टुक्रिन सक्छ । इस्लाम पनि सुन्नी र शियामा विभाजित हुन सक्छ । भने, बहु-आयामिक धर्मलाई पनि एकरूपता दिने प्रयास हुन्छ (जस्तो ISKCON) । यसर्थ ऐतिहासिक परिप्रेक्ष्य अनुसार धर्महरू, विचारहरू, संस्कृतिहरू र दर्शनहरू पनि एक अर्कासँग मिल्ने, बाझिने, बदलिने … क्रम चलिरहन्छ ।

एउटा इतिहासकार यी तथ्यहरूबाट जानकार हुनु पर्ने हो भन्ने मान्यता राख्दै मलाई लाग्छ रुश्दीलाई इतिहास, मिथक, विचार, राजनीति कसरी भिन्न भिन्न कालमा, भिन्न भिन्न सभ्यता र संस्कृतिमा हुँदै, भिन्न भिन्न परिदृश्यमा एक अर्कासँग कुनै विशेष ढाँचा नलिई विकसित हुन्छन् र गति गर्छन् भन्ने थाहा हुन्छ । यसर्थ, यो गति आम मान्छेले भाषाको माध्यममा बुझ्न गाह्रो हुन्छ, जसको फाइदा उठाउँदै धार्मिक र राजनीतिक संस्था (वा गुरु र राजनीतिज्ञहरूले) न्यारेशन विकास गर्छन् र आम मानिसहरूमाथि शासन गर्छन् भन्ने कुरा इतिहासविद्लाई थाहा हुन्छ । यसर्थ जब एउटा इतिहासविद् साहित्यकार पनि बन्छ उसले यी कुराहरूलाई कुनै सामान्य कथनमा भन्न रुचाउँदैन । राजनीतिक, सामाजिक र मनोवैज्ञानिक आयामहरूलाई तह तहमा राखेर उसले भित्री गुह्य कुरा गर्भमा राखिदिन्छ ।

The Eleventh Hour समकालीन विश्वको जटिलता, इतिहास, मिथक र भाषाको सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गर्ने दार्शनिक कथासंग्रह हो । Salman Rushdie, जो पेशाले एक इतिहासविद् हुन्, र जो भारतीय मूलको भए पनि ब्रिटेन र अमेरिका जस्ता देशको संस्कृतिसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्, उनको जीवन र कला सम्बन्धी दृष्टिकोण यो किताबमा सांकेतिक रूपमा प्रस्तुत भएको छ ।

समग्रमा यो किताबमा शब्दहरूले भन्न खोजेको कुरा भन्दा तिनीहरूबीचको गहिराइले धेरै कुरा बोलेको सचेत पाठकलाई महसुस हुनेछ । उनी यहाँ परम्परागत रेखीय (लिनियर) शैलीको कथनभन्दा फरक संरचना प्रयोग गर्छन् । कथाहरू प्रायः टुक्राटुक्रा अनुभव, विचार र स्मृतिबाट बुनेर उनले कसरी र किन आजको विश्वलाई बुझ्न एकात्मक शैली पर्याप्त छैन (अझ, हानिकारक छ) भन्ने बहुस्तरीय लेखनबाट प्रतिबिम्बित गर्छन् ।

यस संग्रहका कथाहरूमा युद्धको छायाँ, राजनीतिक सत्ता, व्यक्तिगत पहिचान र भाषाको दुरुपयोगजस्ता विषयहरू बारम्बार देखा पर्छन् । रुश्दीले देखाउन खोजेको कुरा के हो भने इतिहास कहिल्यै पूर्ण रूपमा समाप्त हुँदैन; त्यसका प्रभावहरू मानिसको स्मृति, संस्कृतिमा र दैनिक जीवनमा निरन्तर जीवित रहन्छन् । त्यसैले कथाहरू केवल घटनाहरूको वर्णन मात्र होइनन्, इतिहास र मानवीय अनुभवबारे दार्शनिक खोज पनि हुन् । पुस्तकको अर्को उल्लेखनीय पक्ष भाषा र कलाप्रति लेखकको दृष्टिकोण हो ।

रुश्दीका लागि कथा भन्नु केवल मनोरञ्जन होइन, बरु सत्यको खोजी गर्ने र भाषालाई पुनः अर्थपूर्ण बनाउने प्रयास हो । यही कारणले उनका कथाहरूमा यथार्थ, कल्पना, व्यंग्य र दार्शनिक टिप्पणी एकैसाथ मिसिएका छन् ।

समग्रमा, The Eleventh Hour सजिलै पढिने साधारण कथासंग्रह होइन । यसले पाठकलाई सोच्न बाध्य बनाउँछ, कहिलेकाहीँ अलमल्याउँछ पनि । तर यही जटिलता यसको शक्ति हो । यो पुस्तक आधुनिक संसारको अन्योल, स्मृति र भाषाको अवस्थाबारे गहिरो साहित्यिक प्रतिबिम्ब जस्तै लाग्छ ।

(कवि अनमोल कँडेलको फेसबूक वालबाट )

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

केपी ओली र रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश