काठमाडाैं । ब्राइट फ्युचर सेकेन्डरी स्कुलद्वारा लगातार ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ३९ औं वार्षिकोत्सव मनाएको छ ।
चन्द्रागिरिमा मात्र नभई राष्ट्रिय स्तरमै शिक्षाको गुणात्मक अभिवृद्धिका लागि कृयाशील शिक्षालय ब्राइट फ्युचर सेकेन्डरी स्कुलले आफ्नो ३९ औं वार्षिकोत्सव मनाउने क्रममा पहिलो दिन चैत्र २७ गते सुप्रसिद्ध बाल साहित्यकार तथा गीतकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यतामा चित्रकला उट्घाटन, दीक्षान्त समारोह तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
त्यस्तै, चैत्र २८ गते मदन पुरस्कार प्राप्त प्रसिद्ध साहित्यकार तथा प्राज्ञ परिषद् सदस्य अमर न्यौपानेको प्रमुख आतिथ्यतामा ब्राइट फ्युचर स्कुलको परिचय समेटिएको विद्यालय पुस्तक विमोचन गरिएको थियो भने वृहत् साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो
साथै, कार्यक्रमको अन्तिम दिन चैत्र २९ गते ब्राइट फ्युचर स्कुलका पूर्व विद्यार्थी, प्रतिनिधि सभा सदस्य भूमिका श्रेष्ठ तथा चर्चित नायिका प्रियंका कार्कीलाई विशेष सम्मान गरिएको थियो भने लोकप्रिय गायक आनन्द कार्की तथा स्कुलका विद्यार्थीहरूबाट विभिन्न साङ्गीतिक, साँस्कृतिक प्रस्तुति तथा खेल कौशल समेत प्रस्तुत गरिएको थियो ।
नैकापस्थित ब्राइट फ्युचर स्कुल भवन परिसरमा आयोजना गरिएको तृदिवसीय वार्षिकोत्सव समापन कार्यक्रममा चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरी लगायत विशिष्ट व्यक्तित्वहरूको आतिथ्यतामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
वरिष्ठ शिक्षासेवी मोहन कुमार कार्कीको अध्यक्षता तथा दयाराम थापाको प्रधानाध्यापकीय भूमिका मार्फत चन्द्रागिरिमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै चर्चित तथा विश्वसनीय शैक्षिक योगदान दिइरहेको ब्राइट फ्युचर स्कुल नेपालको उत्कृष्ट विद्यालयको रूपमा समेत चिनिन्छ ।