काठमाडाैं । सरकारी सेवामा सुधार ल्याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयले कर्मचारीहरूको आवागमन समय कडाइका साथ अनुगमन गर्न थालेपछि कर्मचारीहरू सचेत भएका छन् ।
प्रधानमन्त्री कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रमार्फत् कर्मचारीहरू कार्यालयमा प्रवेश गरेको र निस्केको समय नियमित रूपमा निगरानीमा राख्न थालेपछि देशैभरका सरकारी कार्यालयहरूको कार्य सम्पादनमा सुधार आएको छ भने कर्मचारीहरू समयमै कार्यालय आउन थालेका छन् ।
सरकारले चैत २३ गतेदेखि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यसमय निर्धारण गरेको छ भने शनिबार र आईतबार साप्ताहिक बिदा लागू गरेको छ ।
नयाँ व्यवस्थाअनुसार समयमै कार्यालय नपुग्ने र तोकिएको समयअघि निस्कने कर्मचारीमाथि कडाइ गरिएको छ । जसको परिणाम चन्द्रागिरि नगरपालिकामा पनि देखिएको छ ।
एक सेवाग्राहीका अनुसार पहिला चन्द्रागिरि नगरपालिकाका कर्मचारीहरू समयमै कार्यालयमा हाजिर नहुने, विषयगत शाखाहरूले पनि लापरबाही गर्ने गरेको तर पछिल्लो समय सरकारको कडा निगरानीपछि कर्मचारीहरू समयमै कार्यालय आउने गरेको र विषयगत शाखाहरूले पनि आ-आफ्नो जिम्मेवारी बोध गर्न थालेको देखिएको बताएका छन् ।
उसो त चन्द्रागिरि नगरपालिकाको यस अघिका प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा उपस्थित नहुँदा धेरै समस्या देखिएको जनगुनासो बढिरहेको अवस्थामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत चैत्र ३० गतेको निर्णयअनुसार चन्द्रागिरि नगरपालिकामा उपसचिव जगदीश चन्द्र नेपालीले सोमबार (वैशाख ७ गते) बाट प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका छन् । उनी केही समय सोही मन्त्रालयको अतिरिक्त समूहमा थिए ।
सरकारको पछिल्लो निर्णय अनुसार बिहान ९ बजेभित्र अनिवार्य रूपमा कार्यालय पुग्नुपर्ने व्यवस्था गरिएको छ भने साँझ ५ बजेर ५ मिनेट नहुँदासम्म हाजिरी बन्द गर्न नपाइने प्रावधानका कारण दैनिक कार्य सम्पादनमा सुधार देखिएको हो ।
अनुगमन कडाइ भएसँगै कर्मचारीको कार्यशैलीमा परिवर्तन देखिन थालेको भने पहिले ढिला आउने र बहाना गर्ने प्रवृत्ति कम हुँदै गएको र अधिकांश कर्मचारी समयअघि नै कार्यालय पुग्न थालेको सेवाग्राहीहरूले बताएका छन् ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयले कर्मचारीको पोसाक र अनुशासनमा समेत निगरानी बढाएको छ भने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने लक्ष्यसहित डिजिटल प्रणालीको विस्तारसमेत अगाडि बढाइरहेको जनाएको छ ।