काठमाडौं । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले थानकोट–चित्लाङ सडक खण्ड १४ दिनका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
सडक डिभिजन काठमाडौंका अनुसार थानकोट–चित्लाङ सडक निर्माण तथा स्तरोन्नति कार्य तीव्र रूपमा सञ्चालन भइरहेका कारण निर्माणस्थल हुँदै सवारीसाधन आवतजावत गर्दा काममा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढ्ने देखिएको भन्दै उक्त सडक खण्ड १४ दिनका लागि पूर्ण बन्द रहने जनाएको हो ।
२०८३ जेठ १७ गतेदेखि ३० गतेसम्म पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रूपमा बन्द गरिने भएपछि उक्त अवधिभर सवारी चालक तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
डिभिजन प्रमुख इन्जिनियर सुबोध कुमार देवकोटाद्वारा जारी पत्रमार्फत चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकालाई आवश्यक समन्वय तथा सहजीकरण गरिदिन अनुरोध गरिएको छ।
साथै, निर्माण कार्यमा संलग्न निर्माण कम्पनीहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्देशन समेत दिइएको जनाइएको छ।