काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो । अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति माग्ने तथा जारी गर्ने प्रक्रियामै कानुनी त्रुटि देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
सर्वोच्च अदालतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति माग्दा तथा स्वीकृति प्रदान गर्दा कानुनले तोकेको विधि र प्रक्रिया पूर्ण रूपमा पालना भएको नदेखिएको हो । आदेशमा कानुनी ढाँचा र प्रक्रिया अवलम्बन नगरी अनुमति मागिएको तथा दिइएको उल्लेख गरिएको छ ।
अदालतले आदेशमा भनेको छ कि, प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा नभएको अवस्थामा पक्राउ पुर्जी जारी गर्ने कार्य कानुनी रूपमा कमजोर देखिएकाले तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइएको हो ।