जब आकाशका काला बादलहरूले धर्तीमा अमृत वर्षाउँछन्, र खेतका गराहरू हरियालीको घुम्टो ओढ्छन्, तब हाम्रो आँगन र खेतबारीमा केही रङ्गीन पाहुनाहरू आइपुग्छन् । तिनै पाहुना हुन्- गाइने कीरा, जसको फिरफिरे उडानले बर्खाको आगमनको साँचो सन्देश दिन्छ ।
गाइने कीरा केवल सामान्य कीरा होइन । किसानका सच्चा र निःस्वार्थ साथी हुन् । जब हामी खेतबारीमा कीरा देख्नेबित्तिकै विषको सहारा खोज्छौँ, हामीले बिर्सिरहेका हुन्छौँ कि प्रकृतिले नै हाम्रो रक्षाका लागि केही मौन प्रहरी खटाएको छ । गाइने कीरा तिनै प्रहरी हुन् । यी मांसाहारी जीवले धानबालीलाई सताउने शत्रु कीराहरूलाई मात्र होइन, घरआँगनमा गुनगुनाउँदै रोग फैलाउने सयौँ लामखुट्टेलाई आफ्नो आहारा बनाउँछन् ।
एउटा वयस्क गाइने कीराले दिनमा ३ सयसम्म लामखुट्टे खानु भनेको हाम्रो स्वास्थ्य र बालीनालीको निःशुल्क सुरक्षा गर्नु हो । यस्ता प्राकृतिक मित्र हुँदाहुँदै हामी किन विषको सहारा लिने ?
झलक्क हेर्दा कुनै कुशल कलाकारले बनाएको सिसाको खेलौना जस्ता देखिने यी जीवहरूको जीवनशैली पनि अनौठो छ । ठूला-ठूला आँखाले संसार नियालिरहेका हुन्छन्, तर ६ वटा खुट्टा भएर पनि धर्तीमा राम्ररी हिँड्न सक्दैनन् ।
सायद, यिनीहरू धर्तीमा हिँड्नका लागि बनेकै होइनन्, आकाशमा आफ्नो अद्भुत कला देखाउन जन्मेका हुन् । अगाडि हेरेरै पछाडि उड्न सक्ने यिनको क्षमता साँच्चै अचम्मको छ । प्रकृति जति सुन्दर छ, त्यति नै कठोर पनि । यसको एउटा रोचक तर कठोर सत्य के छ भने, ठूला गाइने कीराले सानालाई आफ्नो आहारा बनाउन पनि पछि पर्दैनन् ।
ठाउँ र परिवेशअनुसार यिनले मायालु नाम पाएका छन् । काठमाडौँ उपत्यकामा ‘गाइने कीरा’ को नामले चिनिन्छन् भने कतै ‘खेतारी’ र ‘पानी छेपुवा’ बनेर खेतबारीको रखवाली गर्छन् । कतै ‘फिरफिरे’ बनेर हावामा घुम्छन् त कतै ‘झ्यालिन्चा’ बनेर प्रकृतिलाई सजाउँछन् ।
फागुनको न्यानो सुरु भएसँगै देखिन थाल्ने यी सुन्दर जीवहरू कात्तिकको चिसो बढ्दै जाँदा बिस्तारै बिदा हुन्छन् । यिनीहरूको आगमनले जीवन र उमङ्गको आभास दिन्छ भने यिनको बिदाइले प्रकृतिको चक्र र समयको गतिलाई सम्झाउँछ ।
त्यसैले, खेतबारीमा कतै गाइने कीरा उडेको देख्नु भयो भने,त्यसलाई कीरा मात्रै नसम्झनुहोस् । सम्झनुहोस् , त्यो बर्खामासको जीवन्त संगीत हो, हाम्रो पर्यावरणको एक अभिन्न अङ्ग हो र प्रकृतिले हामीलाई दिएको एक अमूल्य उपहार हो । यिनलाई चिनौँ, माया गरौँ र जोगाऔँ ।
– साभार :