काठमाडौं । सरकारले भदौ ३० गतेदेखि देशैभर चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपत्यकाको तीन जिल्लासहित २६ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । भदौ ८ गते बसेको विभागीय मन्त्रीस्तरीय बैठकले भदौ ३० गतेदेखि आगामी छठ पर्वसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले यस्तो पसल सञ्चालनमा ल्याउन लागेका हुन् ।
सुपथ मूल्य पसलमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सबै प्रकारको चामल, गहुँ दाना, चिनी, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ, चिउरा, पिठो, मैदा र आँटामा प्रतिकिलो ७ रुपैयाँ, जिरा, धनिया, चियापत्ती, जिउँदो खसी, बोका र च्याङग्राका प्रतिकिलो १० रुपैयाँ छुट मूल्यमा बिक्री गर्नेछ ।
यस्तै खानेतेलतर्फ तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेलमा प्रतिलिटर ७ रुपैयाँ तथा कर्णालीको सिमी तथा फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी र बासमती चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारले व्यवस्था गरेको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले नुन र चिनीमा प्रतिकिलो २, तेल चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने व्यवस्था गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनल काठमाडौं उपत्यकाको कालिमाटी, चन्द्रागिरिस्थित सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल महाराजगञ्जमा सुपथ मूल्य पसलका साथै ३ वटा घुम्ती पसल सञ्चालन गर्नेछ ।